ओली सरकार आएपछि महंगी बढ्यो, कुन बस्तुमा कति बढ्यो ?
काठमाडौं । दुइतिहाइको बलियो सरकारले पनि मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा महंगीले जनताको ढाड सेकिएको छ ।
गत वर्षको पुसमा सरकार कांग्रेस नेतृत्वको थियो । प्रधानमन्त्री थिए शेरबहादुर देउवा । मंसिरमा भएको चुनावको असरले पुसमा महंगी बढ्ने अनुमान गरिएको थियो ।
गत वर्षको बाम गठबन्धनले दुइतिहाइ मत ल्याएको नतिजा सार्वजानिक भइसकेको थियो । केही समयपछि केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भए । स्थिरि सरकारसँगै जनताले महंगी पनि घट्ने अपेक्षा गरेका थिए ।
नेपाल राष्ट्र बैंकले आज सार्वजानिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा महंगी बढेको उल्लेख छ । राष्ट्र बैंकका अनुसार २०७५ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.६ प्रतिशत रहेको छ । जबकी ०७४ पुस मसान्तमा यस्तो मूल्यवृद्धि ४.० प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ
२०७५ पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त समूहको मूल्यवृद्धि २.४ प्रतिशत रहेको थियो । गैरखाद्य तथा सेवा मूल्यवृद्धि समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.१ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त मूल्यवृद्धि ५.३ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार यस समूह अन्तर्गत घरायसी सेवा तथा उपयोगिता, लुगा तथा जुत्ता, यातायात र फर्निसिङ तथा घरायसी उपकरणलगायतका उप–समूहका वस्तु तथा सेवाहरूको मूल्य वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि बढ्न गएको हो ।
क्षेत्रगत उपभोक्ता
२०७५ पुस महिनामा उपभोक्ता मूल्यवृद्धि काठमाडौं उपत्यकामा ५.२ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, हिमालमा ४.५ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि क्रमशः २.९ प्रतिशत, ४.४ प्रतिशत, ५.५ प्रतिशत र ४.४ प्रतिशत रहेको थियो ।
नेपाल र भारतको उपभोक्ता मूल्यवृद्धि
२०७५ पुस महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.६ प्रतिशत र भारतको २.०५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा नेपालको मूल्यवृद्धि ४.० प्रतिशत र भारतको ५.१ प्रतिशत रहेको थियो ।
थोक मूल्यवृद्धि
२०७५ पुस महिनामा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि ६.० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त मूल्यवृद्धि २.० प्रतिशत रहेको थियो ।