सहसचिवको दुखेसोः घुस नखाँदा पुरस्किृत हुनुपर्नेमा, मन्त्री र सचिवले दण्ड दिए
काठमाडौं । खानेपानी मन्त्रालयमा कार्यतर बरिष्ठ सहसचिव राजनराज पाण्डेले घुस नखाएकै कारण मन्त्री र सचिवले आफूलाई दण्ड दिएको बताएका छन् ।
खानेपानी मन्त्री बिना मगर र सचिव एक नम्बरको घुस्याहा भएको दाबी गर्दै आफूले घुस खान्न भनेपछि मन्त्री र सचिवले कुनैपनि जिम्मेवारी नदिएको बताएका छन् ।
निजामति कर्मचारीको अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममै सहसचिव आफू घुस नखाने कर्मचारी भएको हुँदा मन्त्री र सचिवले कुनैपनि जिम्मेवारी नदिएको भनेर विवरण लेखेका छन् ।
‘माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको,’ कार्यसम्पादन मूल्यांकन फारममा पाण्डेले लेखेका छन् ।
मेलम्चीको पानी छिटो ल्याउन खोज्दा…
यस वर्षकै दशैँअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सकिन्छ भनेर काम गर्न खोज्दा मन्त्री र सचिवले घुस खान नपाइने भयो भनेर आफूलाई कुनैपनि जिम्मेवारी नदिएको पाण्डको दाबी छ ।
सहसचिव पाण्डेले इटालियन ठेकदारसँग मन्त्रालयले ठेक्का तोडेर नयाँ ढङ्गबाट काम अगाडी बढाए दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौं ल्याउनुपर्ने तर्क राख्दै आएका थिए । आफूले यस्तो तर्क राखेपछि मन्त्री मगरले आफूलाई जिम्मेवारी नदिएको उनको गुनासो छ ।
९ महिनादेखि पाण्डेलाई कुनैपनि जिम्मेवारी दिइएको छैन । उनी मन्त्रालय जान्छन् । हाजिर गर्छन् । र, साँझ घर फर्किन्छन् ।