प्रधानमन्त्री भन्छन्- सरकारको सफलता देखेर नेपालप्रति विश्वको चासो बढेको छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राप्त गरेको सफलता देखेर विश्वले नेपालप्रति चासो देखाएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताए ।

‘हामीले गरेको सफलताले नेपालप्रति विश्वको चासो बढेको छ, अब नेपाल सानो पछौटे मुलुकका रुपमा नभई विश्वमान चित्रमा सम्झिन लायक मुलुकका रुपमा स्थापित भएको छ,’ ओलीले भने ।

मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिका जनताका आकाङ्क्षा बढेको उनको भनाई थियो ।

देशको समग्र विकासका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विकास–निर्माणका गतिविधि तीव्र गतिमा अघि बढाउनुपर्ने बताए ।

सदनमा सांसद कृष्णभक्त पोखरेलले चीनबाट नेपालसम्म रेल ल्याउने र पूर्व–पश्चिम रेल चलाउने सम्बन्धमा के प्रगति भइरहेको छ भनेर प्रश्न गरे । साथै उनले प्रधानमन्त्रीको आशन्न स्वीट्जरल्याण्डको भ्रमणका बारेमा जिज्ञासा राख्दै भ्रमणबाट नेपालले के लाभ लिन सक्छ भनी प्रश्न पनि गरे ।

जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भूपरिवेष्टित मुलुक भए पनि अब विभिन्न सञ्जालले जमीनमार्फत विश्वसँग जोडिएका बताउँदै जल यातायात सञ्चालन गर्ने विषयमा विभिन्न चरणमा भारतसँग वार्ता भइरहेको जानकारी गराए ।

पूर्व–पश्चिम रेलको काम अघि बढिरहेको र स्रोत जुटाउन विभिन्न दुईपक्षीय र बहुपक्षीय निकायसँग वार्ता छलफल भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले वीरगञ्ज–काठमाडौँ रेलमार्ग अघि बढाउन भारतसँग वार्ता निकै अघि बढेको उल्लेख गरे । उनले केरुङ हुँदै काठमाडौँ–पोखरा–लुम्बिनीसम्म रेल सञ्चालनका लागि चीनसँगको वार्ता र छलफल जारी रहेको बताए ।

यही जनवरी २२ देखि २५ सम्म स्वीट्जरल्याण्डको डावोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा आफ्नो नेतृत्वमा पहिलोपल्ट सहभागिता हुन लागेको अवगत पनि संसदलाई गराए ।

भ्रमणका लागि यही माघ ६ गते आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्ने र माघ १२ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भ्रमण आर्थिक गतिविधिमा केन्द्रित रहने र दुनियाँका नयाँ आर्थिक ट्रेण्डका बारेमा छलफल हुने भन्दै प्रधानमन्त्री ओलीले भ्रमणको साइडलाइनमा समेत अन्य महत्वपूर्ण भेटघाट हुने जानकारी दिए ।

उनले भ्रमणले नेपालको इज्जत र प्रतिष्ठा बढाउने र नेपालको अवस्था जनाई नेपालप्रति सहयोगात्मक भावना बढाउन केन्द्रित बनाउने आश्वस्त पारे ।

सांसद अतहरकमाल मुसलमानले रु ५० अर्बभन्दा ठूला आयोजना विनाटेण्डर प्रधानमन्त्री कार्यालयबाट सिधै अघि बढाउने सरकारको नीतिले कसरी सुशासन हुन्छ भनी प्रश्न गरे ।

जवाफमा प्रधानमन्त्री ओलीले यसबारेमा कुनै निर्णय नभएको र निर्णय गर्ने कुनै योजना पनि नरहेको स्पष्ट पारे ।


पुष्प दुलाल