ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियनसँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षमा ४३२ तथा पक्षमा २०२ मत परेको थियो ।
ब्रेक्जिट सम्बन्धी सम्झौतामा प्रधानमन्त्री मेले युरोपेली युनियनसँग गत वर्षको अन्त्यतिर ब्रसेल्स पुगी सहमतिमा हस्ताक्षर भएको थियो । इयूसँगको सम्झौता आगामी मार्च २९ बाट लागू हुने कार्यक्रम छ, तर उक्त सम्झौता लागू हुन संसदले अनुमोदन गर्नु पर्नेछ ।
बेलायती संसदीय इतिहासमै सरकारको प्रस्ताव यतिठूलो मतान्तरले अस्वीकृत भएको यो पहिलो घटना हो । ब्रेक्जिट सम्झौता अस्वीकृत भएसँगै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बाइनले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन ।
बेलायती संसदको नतिजापछि तत्कालै प्रतिक्रिया दिँदै इयूले ब्रेक्जिट सम्झौता कार्यान्वयनमा नआएको अवस्थामा बेलायतको औपचारिक धारणा आवश्यक पर्ने जनाएको छ । युरोपेली आयोगका प्रमुख जाँ क्लाउड जन्करले बेलायतको प्रतिक्रिया जतिसक्दो चाँडो उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । उनले समय घर्किसकेकाले तत्कालै निर्णय गर्न बेलायत समक्ष आग्रह गरेका छन ।
संसदमा नराम्रो हार व्यहोरेकी प्रधानमन्त्री मेले ब्रेक्जिटका सम्बन्धमा सांसदहरुले राखेका चासोलाई सम्बोधन गरी कार्यरुपमा लैजान सकिने किसिमको बनाउन पहल गर्ने बताउनुभयो । उहाँले नयाँ सम्झौता अब सम्भव नभएको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री मेले भने, “म संसदभित्रका सबै दल एवं सांसदहरुलाई जनमतसङ्ग्रहमा व्यक्त जनताको विचारलाई सुन्न आग्रह गर्दछु ।”
तर, संसदमा विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बाइनले दर्ता गरेको सरकार विरुद्धको अविश्वास प्रस्ताव पारित नहुने प्रधानमन्त्री मेले विश्वास व्यक्त गरेका छन । अविश्वास प्रस्तावमाथि बुधबारदेखि हाउस अफ कमन्समा छलफल हुँदैछ ।