राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा ठुलो गिरावट



बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।

उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो ।

व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन २०१७ को तुलनामा गत वर्ष द्विपक्षीय व्यापारमा करिब ५३ प्रतिशतले कमी आएको छ ।

उत्तर कोरियाबाट चीनतर्फको आयातमा पनि सान् २०१८ मा ८८ प्रतिशतले कमी आएको छ । सरकारी विवरण अनुसार उत्तर कोरियाबाट सन २०१८ मा करिब २१ करोड अमेरिकी डलर बराबरका सामानमात्र आयात भएको छ । भन्सार प्रशासनका प्रवक्ता ली कुवेनका अनुसार चीनबाट उत्तर कोरियातर्फको निकासीमा पनि ३३ प्रतिशतले कमी भई दुई अर्ब १८ करोडमा सीमित भएको छ ।

“चीन र उत्तर कोरियाबीचको व्यापारका सन्दर्भमा हामीले सुरक्षा परिषदको प्रस्तावलाई कडाईका साथ लागू गरेका छौं,” लीले बताए ।

व्यापार प्रतिबन्धका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रमुख मुद्रा आर्जनमा समस्या झेल्नु परेको छ । उत्तर कोरियाले खासगरी कोइला र अरु खनिज वस्तुहरु, माछा र कपडा निकासी गर्दछ । निर्यातमा आएको कमीका कारण मुलुकको अर्थतन्त्रमा जटिलता उत्पन्न भएको छ ।


पुष्प दुलाल