देश विकासमा लाग्न पूर्व राष्ट्रपतिको आग्रह
काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलसँग आग्रह गरेका छन् ।
नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले अब जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा त्यसतर्फ केन्द्रित हुन सरकार र राजनीतिक दलका नेतालाई आग्रह गरेका हुन् ।
‘जनताको लामो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको छ, संविधान पनि जारी भएको छ, अब विकास नगर्नका लागि दलहरुले कुनै बाहना बनाउन पाउँदैनन्, व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको विकासमा लाग्नुको विकल्प छैन,’ उनले भने ।
मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, बेरोजगारी, महिला हिंसा, बलात्कारसँगै सबै प्रकृतिका विभेद र उत्पीडनको अन्त्य गरी सुशासन कायम गर्दै देशमा शान्ति र समृद्धि कायम गर्नुपर्ने पूर्व राष्ट्रपति यादवको भनाइ छ ।
निजी विद्यालयभन्दा सरकारी विद्यालयको स्तर झन्झन् खस्कँदै गएको सन्दर्भमा पूर्व राष्ट्रपति यादवले सरकारले व्यावहारिक शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
‘तपाइँ अभिभावकले मेरो छोराछोरीले यही नै विषय अध्ययन गर्नुपर्छ भनेर बल नगर्नुहोस्, उसको इच्छा के छ त्यहीअनुसार अध्ययन गर्न दिनुहोस्, उसले त्यसैमा प्रगति गर्न सक्छ ।’ उनले भने ।
सरकारद्वारा राष्ट्रभरिमै सर्वोकृष्ट विद्यालय घोषित भई लगातार तीन पटकसम्म राष्ट्रिय र क्षेत्रीय पुरस्कारद्वारा विभूषित नाइटिङ्गेल स्कूल विसं २०४९ मा स्थापना भएको हो । कार्यक्रममा विभिन्न विधामा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । रासस