टेलिकमका प्रवन्ध निर्देशक अधिकारीद्धारा पदबहाली,फोरजीलाई समयमा नै पुरा गर्ने प्रतिबद्धता



काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

सरकारले पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा अधिकारीलाई नियुक्त गरेको थियो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरे ।

सो अवसरमा उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गरे । उनले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने बताए ।

उनले परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए ।

त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिवद्धता ब्यक्त गरे ।

पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशकहरु, निर्देशकहरु, प्रबन्धकहरु, अन्य बरिष्ठ अधिकृतहरु, आधिकारिक टे«डयुनियनलगायत कम्पनीमा आवद्ध अन्य कर्मचारी युनियनका पदाधिकारीहरु एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

प्रबन्ध निर्देशक अधिकारी यस अघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गरेका थिए । उनी २०६५ मा बरिष्ठ इन्जिनियर, २०७० मा उप–प्रबन्धक र २०७५ बैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत थिए ।


क्लिकमान्डु