राष्ट्रिय बीमा कम्पनीका सिइओले दिए राजीनामा, भन्छन्ः कुरा मिलेन, अनि दिएँ



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीरविक्रम रायामाझीले पदबाट राजीनामा दिएका छन् । उनले पुस २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

आफूले कात्तिक २० गते नै संचालक समिति समक्ष राजीनामा दिएको सिइओ रायमाझीले बताए । रायमाझीलाई सिइओमा नियुक्त गर्दा बीचमा राजीनामा गर्नुपर्ने भए ३ महिना अगाडि नै जानकारी दिनुपर्ने शर्त रहेकोले पुस २० गतेदेखि लागू हुने गरी कात्तिक २० मा नै राजीनामा दिएको रायमाझीले बताए ।

‘पुस २० गतेदेखि लागू हुने गरी राजीनामा दिएको हूँ, कुरो अलि मिलेन अनि राजीनामा दिएँ,’ क्लिकमाण्डूडटकमसँगको संक्षिप्त प्रतिक्रियामा रायमाझीले भने ।

अर्थमन्त्रालयको दबाबमा सिइओ रायमाझीले राजीनामा दिएको स्रोतले दाबी गरेको छ । अर्थले गत मंसिरमा सिइओ रायमाझीको ‘पर्फरमेन्स इभ्यालुसन कमिटी’ नै बनाएको थियो । सो समितिले सिइओ रायमाझीको कार्यप्रति सन्तोषजनक नभएको प्रतिवेदन कम्पनीको संचालक समितिलाई बुझाएको थियो ।

सो प्रतिवेदन अनुसार सिइओ राजमाझीमाथि कारबाही हुने सम्भावना देखिएपछि उनले पछाडिको मिति राखेर राजीनामा दिएको स्रोतको दाबी छ । यद्यपि सिइओ रायमाझी भने आफूले कात्तिक २० गते नै राजीनामा दिएको बताउँछन् ।

‘अर्थमन्त्रालयलाई रायमाझीलाई हटाउनु पर्ने थियो, उनलाई कारबाहीबाट जोगिनु पर्ने थियो, त्यसले उनले मंसिरमा बनेको कमिटीको सिफारिस अनुसार कारबाहीबाट जोगिने र अर्थमन्त्रालयलाई मार्गप्रसस्त गर्ने उपायका रुपमा कात्तिकको मिति राखेर राजनीनामा दिएका हुन्,’ स्रोतले भन्यो ।

यता अर्थमन्त्रालयले पनि सिइओ रायमाझीको राजीनामा पत्र मगाएको छ । मन्त्रालयले सिइओ रायमाझीको राजीनामा मगाएकोले चाढै पठाउने तयारी भइरहेको कम्पनी स्रोतले बतायो ।

चार बर्षका लागि सिइओमा नियुक्त भएका रायमाझीको कार्यकाल अब करिब ७ महिना मात्रै बाँकी थियो ।


क्लिकमान्डु