पत्याउनु हुन्छ ? राष्ट्र बैंक त दाल, तरकारी र चिनीको मूल्य घट्यो पो भन्छ




काठमाडौं । तपाइको भान्छामा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ र तरकारी दैनिक चाहिन्छ नै । गत बर्षको कात्तिकमा भन्दा यो बर्षको कात्तिकमा यी बस्तुको मूल्य घटेको हो ? तपाइलाई त्यस्तो लाग्छ ?

तपाइलाई जे जस्तो लागे पनि राष्ट्र बैंक भने घट्यो भन्छ । राष्ट्र बैंकका अनुसार अघिल्लो बर्षको कात्तिकको तुलनामा गत कात्तिकमा दाल तथा गेडागुडीको मूल्य १४.३ प्रतिशतले घटेको छ । यस्तै चिनी तथा चिनीजन्य पदार्थको मूल्य ७.६ प्रतिशतले र तरकारीको मूल्य ८.७ प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ । दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्य भने २.९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

समग्रतामा खाद्य तथा पेय पदार्थ समुहको मूल्य अघिल्लो बर्षको कात्तिकको तुलनामा गत कात्तिकमा १.३ प्रतिशतले मात्रै बढेको राष्ट्र बैंकको भनाइ छ ।

गैरखाद्य तथा सेवा समुहको मूल्य भने निकै बढेको तथ्यांकले देखाएको छ । यो समुहको मूल्य गत बर्षको कात्तिकको तुलनामा गत कात्तिकमा ६.४ प्रतिशतले बढेको छ ।

यो कात्तिकमा घरायसी सेवा तथा उपयोगिताको मूल्य सबैभन्दा धेरै बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस्तो बस्तुको मूल्य गत बर्षको कात्तिकको तुलनामा यो कात्तिकमा ८.७ प्रतिशतले बढेको छ ।

यस्तै यातायात भाडा ८.४ प्रतिशतले र फर्निसिङ तथा घरायसी उपकरणको मूल्य ६.१ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार यो बीचमा सबैभन्दा धेरै महंगी हिमालमा बढेको छ । हिमाली क्षेत्रमा ४.६ प्रतिशतले, काठमाडौं उपत्यकामा ४.५ प्रतिशतले, पहाडमा ४.३ प्रतिशतले र तराइमा ३.८ प्रतिशतले मूल्य बढेको छ । अघिल्लो बर्षको कात्तिकमा हिमालमा ५.४ प्रतिशतले, काठमाडौं उपत्यकामा ३.२ प्रतिशतले, पहाडमा ४.७ प्रतिशतले र तराइमा ३.७ प्रतिशतले मूल्य बढेको थियो ।


क्लिकमान्डु