देशको आर्थिक अबस्थाः शोधनान्तर स्थिति ५७ अर्ब घाटामा, आयात ३९%ले बढ्यो




काठमाडौं । गत आर्थिक बर्षको तुलनामा रेमिटान्स आय उल्लेख्य मात्रामा बढेको भएपनि ब्यापार घाटा उच्च भएको कारण देशको शोधनान्तर स्थिति ५७ अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ४ महिना (साउनदेखि कात्तिकसम्मको) देशको आर्थिक स्थिति यस्तो देखिएको हो । यो ४ महिनामा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

तर, यही अवधिमा रेमिटान्स आय भने गत आर्थिक बर्षको ४ महिनाको तुलनामा नेपाली रुपैयाँमा ३६.४ प्रतिशत र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ । योबीचमा अमेरिकी डलरसँग नेपाली मुद्रा कमजोर हुदा अमेरिकी डलरको भन्दा नेपाली रुपैयाँमा रेमिटान्स आय बृद्धि बढी देखिएको हो ।

राष्ट्र बैंकका अनुसार आयातको बृद्धिदर ३५.८ प्रतिशत छ भने निर्यात ब्यापारको बृद्धिदर केबल ११ प्रतिशत मात्रै छ । बार्षिक विन्दुगत आधारमा मूल्यबृद्धि ४.२ प्रतिशत मात्रै छ ।

यो बीमा सरकारले राजस्वको रुपमा बढी पैसा उठाएको र आफूले गर्नुपर्ने खर्च भने कम गरेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो ४ महिनामा सरकारले राजस्वको रुपमा उठाएको रकम ३०.५ प्रतिशतले बढेको छ भने नगद प्रवाहमा आधारित सरकारको कूल खर्च १७.५ प्रतिशतले मात्रै बढेको छ ।

यो बीमा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रभाव बढी गरेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार ४ महिनामा बैंकहरुले निक्षेप संकलन ३.६ प्रतिशतले बढाएका छन् भने निजी क्षेत्रतर्फ जाने कर्जा ८.५ प्रतिशतले बढाएका छन् । यस्तै बार्षिक विन्दुगत आधारमा निक्षेप बृद्धिदर १७.९ प्रतिशत छ भने कर्जाको बृद्धिदर २४.५ प्रतिशत छ ।


क्लिकमान्डु