सम्पत्ति बीमाको शुल्क ६५ प्रतिशत घट्ने, १८ बर्षपछि परिमार्जन भयो निर्देशिका
काठमाडौं । सम्पत्ति बीमा शुल्क ६५ प्रतिशतसम्म घट्ने भएको छ । बीमा समितिले २०५८ सालको सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरेपछि यस्तो बीमाको शुल्क घट्ने भएको हो ।
अगाडी आएको निर्देशिका समय सापेक्ष बनाउनको लागि परिमार्जन गरिएको समितिका अध्यक्ष चिरन्जीबी चापागाईँले जानकारी दिए ।
‘सम्पत्ति बीमा निर्देशिकालाई समय सापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यक थियो, त्यसैले हामीले परिमार्जन गरेका हौं,’ अध्यक्ष चापागाईँले समितिमा आयोजित पत्रकार सम्मेलनमा भने ।
सम्पत्ति बीमा लेख अन्तरगत सामान्य सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, मूल्यांकित सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, र पुनस्थापना सम्पत्ति बीमालेख पर्छन् ।
समितिले गरेको परिमार्जन अनुसार १ करोड रुपैयाँभन्दा कम मूल्यको घरको बीमा गराउँदा प्रतिहजार रुपैयाँको ४० पैसाका दरले बीमा शुल्क तिरेर बीमा गराउन सकिने भएको छ । यस्तो बीमामा हुलदंगा तथा आतंकबाद जोखिम भने समावेश हुने छैन । यो शुल्क अनुसार १ करोड रुपैयाँको घरको बीमा बार्षिक ४ हजार रुपैयाँ बीमा शुल्कमा गर्न सकिनेछ ।
यस्तो ब्यवस्थाले हाल प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नी र भूकम्प) सहित सबै बीमायोग्य जोखिम लिदा समेत कूल बीमा शुल्कमा औसतमा ६५ प्रतिशतका दरले बीमा शुल्क कम पर्ने समितिले जानकारी दिएको छ । शुल्क घटेपछि बीमाको दायरा बढ्ने अपेक्षा समितिको छ ।