मार्जिन लेन्डिङको सिमा ६५ प्रतिशत र कोर क्यापिटलको ४० प्रतिशतसम्म सेयर कर्जा दिन सुझाव



काठमाडौं । अर्थमन्त्रालयले गठन गरेको पुँजी बजार र मुद्रा बजारको समस्या समाधान गर्न गठन गरेको कार्यदलले अर्थमन्त्री डा युवराज खतिवडालाई सुझाव पेश गरेको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिले सेयर धितोमा दिने कर्जा ६५ प्रतिशत गर्न सुझाव दिएको छ । यस्तै कोर क्यापिटलको ४० प्रतिशतसम्म ऋण दिने सुझाव समितिले दिएको छ ।

अहिले मार्जिन लेन्डिङको सिमा ५० प्रतिशत र कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था छ ।

शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्ने सुझाब समितिले दिएको छ । हकप्रद र बोनस सेयर समायोजनपछि मूल्य घट्दा मार्जिन कल आउने गरेकोमा त्यसलाई समेत हटाउने सुझाव समितिले दिएको छ ।

यस्तै सेयर बजारमा गैर आवासीय नेपाली र संस्थागत विदेशी लगानी समेत भित्राउनुपर्ने सुझाव समितिले दिएको छ । एनआरएनको लगानी खुल्ला भएपनि आएको छैन ।

समितिले समय तालिका बनाएर सुझावलाई कार्यान्वयन गर्नको लागि अर्थमन्त्री समक्ष आग्रह गरेको छ । अहिले अर्थमन्त्रीको अध्यक्षतामा उच्चस्तरिय वित्तीय क्षेत्र समन्वयन समितिको बैठक बसेको छ ।

समितिका एक सदस्यले प्रतिवेदन कार्यान्वयन भएमा पुँजी बजार र मुद्रा बजारले भोगेको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु