मेक्सिकोका राष्ट्रपतिले राज्यकोषमा फिर्ता गरे एक तिहाई तलब, नेपाली नेताहरुले केही सिक्ने कि ?



मेक्सिको सिटी ।  मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् ।

उनले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको एक तिहाई फिर्ता गर्न थालेको समाचारमा जनाइएको छ । उनले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एक पत्रकार सम्मेलनमा उनले अब आफ्नो मासिक तलब पाँच हजार ३७३ डलर पुगेको र त्यसलाई मितव्ययी भई सदुपयोग गर्ने योजना बनाएको जानकारी दिए ।

“मैले फिर्ता गर्ने भनेको रकम राज्यकोषमा फिर्ता गरिसकेको छु,” लोपेजले पत्रकारहरुसँग भने ।

उनले सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन आह्वान गरे ।

देशको ठूलो कर्मचारीतन्त्रका विषयमा जनताले प्रश्न उठाएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि उनले बताए ।
रासस\सिन्ह्वा


क्लिकमान्डु