राजस्व सचिबमा लालशंकरलाई ल्याएपछि नयाँ चर्चाः अर्थमन्त्रीले टीम परिवर्तन गर्न लागेकै हुन् ?




काठमाडौं । राजस्व सचिब शिशिर कुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेर सोही ठाउँका सचिब लालशंकर घिमिरेलाई राजस्व सचिब बनाएर अर्थमन्त्रालय ल्याइयो ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग मिलेर काम गरिरहेका ढुंगानालाई किन प्रधानमन्त्री कार्यालय लगियो भन्ने प्रश्न अहिले सर्बत्र छ ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय धेरै शक्तिशाली छ । ढुंगाना आफैले शक्तिशाली निकायमा बसेर प्रधानमन्त्रीलाई सहयोग गर्न चाहेकोले त्यहाँ लगियो भन्ने तर्क पनि छ । तर, यसअघि अर्थमन्त्रालयमै रहेका लालशंकर घिमिरेले अर्थमन्त्रालय जान चाहेका कारण यो सरुवा भयो भन्ने अर्काेथरी हल्ला पनि छ ।

त्यसो भए राजस्व सचिब बनाउनकै लागि घिमिरेलाई अर्थमन्त्रालय ल्याइएको हो त ?

अर्थकै उच्च कर्मचारीहरु भने घिमिरे केही साताको लागि मात्रै राजस्व सचिब भएर आएका हुन सक्ने अनुमान गर्छन् ।

‘उहाँ (घिमिरे) को कार्यशैली, चाहना र पावर एक्सरसाइजको विगत हेर्दा उहाँ राजस्व सचिब हुनको लागि मात्रै आउनु भएको जस्तो लाग्दैन, उहाँले राजस्व बाहेकका विभागका प्रमुखहरुलाई पनि अब मिलेर काम गर्नुपर्छ है भन्दै हुनुहुन्छ, त्यसैले केही दिन वा साताको लागि राजस्व सचिब र त्यसपछि अर्थसचिब हुनकै लागि आउनु भएको जस्तो देखिन्छ,’ अर्थका एक उच्च कर्मचारीले भने ।

राजन खनालको पनि सरुवा हुदै ?
अर्थसचिब अहिले डा. राजन खनाल छन् । डा. युवराज खतिवडा अर्थमन्त्री बनेपछि डा. खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमन्त्रालय ल्याइएको थियो ।

तर, पछिल्ला केही महिनायता डा. खनालले अर्थमन्त्रालयमा त्यति ‘इन्जोय’ नगरेका अर्थकै कर्मचारी बताउँछन् ।

‘सुरुमा उहाँ (सचिब डा. खनाल) मा जुन प्रकारको उत्साह थियो, पछिल्ला केही महिनायता कम हुदै गए जस्तो आभास मिल्थ्यो, पछि त उहाँ विरामी पनि पर्नुभयो, अब अर्थमन्त्रालयबाट बाहिरिन पाए पनि हुन्थ्यो भन्ने उहाँलाई लागेको हो कि जस्तो देखिन्छ, तर उहाँको मनको कुरा उहाँलाई नै थाहा होला,’ सचिब डा. खनाल निकट एक कर्मचारीले भने ।

केही समय अगाडि डा. खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त भएर जान चाहेको हल्ला पनि सार्बजनिक भएको थियो । तर, सरकारले डा. खनाललाई अख्तियारको आयुक्त भने बनाएन ।

प्रवक्ताको पनि सरुवा
डा. खतिवडा अर्थमन्त्री बनेपछि मन्त्रालय आएकी सहसचिब चन्द्रकला पौडेल अर्थबाट भूमिसुधार मन्त्रालय गएकी ३ साता जति भइसकेको छ । पौडेललाई राजस्व तालिम केन्द्रबाट अर्थमन्त्रालयमा ल्याइएको थियो ।

मूल्यांकन तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको पौडेललाई अर्थमन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि दिइएको थियो । पौडेल सरुवा भएर गएपछि अर्थमन्त्रालयले प्रवक्ताको जिम्मेवारी प्रशासन महाशाखा प्रमुख सुमन दाहाललाई दिएको छ ।

पछिल्लो समय पौडेल पनि अर्थमन्त्रालयमा बस्न त्यति इच्छुक नभएकोले उनको सरुवा भएको अर्थमन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

‘उहाँ (सहसचिब पौडेल) यो छिडीमा के रुघेर बस्नु भन्दै हिड्नु भएको थियो, उहाँ पनि अर्थबाट बाहिरिन पाएको सन्तुष्ट जस्तो देखिनु हुन्थ्यो, फेरि उहाँ जानुभएको मन्त्रालयको मन्त्री (भूमिसुधार मन्त्री पद्मा अर्याल) पनि उहाँकै गृहजिल्लाको भएकोले त्यता जादा सहज हुन्छ भन्ने भएको हुन सक्छ,’ अर्थका एक कर्मचारीले भने ।

अर्थमन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखा मन्त्रालयको क्यान्टिन नजिकै टहरामा छ । पौडेल सोही महाशाखाको प्रमुख थिइन् ।

आइआरडीका डिजी पनि फेरिदै ?
समाचार स्रोतहरुले अर्थमन्त्रालय अन्तरगतका केही विभागका प्रमुखहरु पनि परिवर्तन हुन सक्ने दाबी गरेका छन् ।

‘केही साताभित्रै लालशंकर सर (अहिलेका राजस्व सचिब लालशंकर घिमिरे) अर्थसचिब बन्नुभयो भने अनौठो नमाने हुन्छ, यति मात्रै होइन केही विभागीय प्रमुख पनि परिवर्तन हुने भन्ने हल्ला छ,’ मन्त्रालय स्रोतले भन्यो ।

अर्थमन्त्रालयका प्रभावशाली विभागहरुमा भन्सार र आन्तरिक राजस्व विभाग हुन् । डा. युवराज खतिवडा अर्थमन्त्री बनेपछि भन्सार विभागका तत्कालिन महानिर्देशक जगदीश रेग्मीलाई हटाएर तोयम राय र आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक किशोरजंग कार्कीलाई हटाएर विष्णु नेपाललाई महानिर्देशक बनाइएको थियो ।

भन्सार विभागको परफरमेन्सप्रति अर्थमन्त्री डा. खतिवडा सन्तुष्ट रहेको बताइन्छ । तर आन्तरिक राजस्व विभागका महानिर्देशक नेपालप्रति भने उनी त्यति सन्तुष्ट हुन नसकेको स्रोतको दाबी छ ।

‘भन्सार विभागले तीन महिनामा नै ४० प्रतिशत जतिले भन्सार राजस्व बढाएको भनिएको छ, तर आन्तरिक राजस्व विभागले मूल्य अभिबृद्धि कर (भ्याट) संकलनमा राम्रो प्रगति गर्न सकेन भन्ने छ, विभागीय प्रमुख परिवर्तन गर्दा त राम्रो गरिरहेकालाई गर्ने होइन होला, त्यसैले आन्तरिक राजस्व विभागका महानिर्देशक परिवर्तन हुने अनुमान सहजै गर्न सकिन्छ,’ स्रोतले भन्यो ।

घिमिरे अर्थसचिब भए भने राजस्व सचिब को ?
राजस्व सचिब बनाएर कसलाई ल्याउने भन्नेमा अर्थमन्त्री डा. खतिवडा अहिले नै निष्कर्षमा पुगिनसकेको स्रोतले बतायो ।

‘अर्थमन्त्रालयकै क्याडर भएकोले सबैले बैकुण्ठ अर्याल वा लक्ष्मण अर्यालमध्ये एक जना आउन सक्ने अनुमान गरेका छन्, बैकुण्ठ सरको राजस्वतिर त्यति धेरै अनुभव छैन, लक्ष्मण सरको धेरै अनुभव छ, त्यसैले यी दुई जनामध्ये एक वा नयाँ अर्काे कोही आउने सक्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो ।

डा. खतिवडा गतबर्षको फागुन दोस्रो साता अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी अर्थमन्त्री भएपछि अर्थसचिब, महालेखा नियन्त्रकको कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, ठूला करदाता कार्यालय जस्ता निकायको प्रमुख परिवर्तन गरिएको थियो । तर डा. खतिवडा अघिका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकै कार्यकालमा राजस्व सचिब बनेका शिशिर कुमार ढुंगाना भने अघिल्लो साता मात्रै अर्थमन्त्रालयबाट बाहिरिएका हुन् ।

डा. खतिवडाले आफ्नो कार्यकाल एक बर्ष पनि नपुग्दै आफ्नो टीम परिवर्तन गर्न लागेका संकेत भने मिलेको छ । डा. खतिवडाले अर्थमन्त्रीको रुपमा प्रभावकारी काम गर्न सकेनन् भन्दै उनकै पार्टीभित्र पनि आलोचना हुदै आएको छ ।


क्लिकमान्डु