पूर्व प्रधानमन्त्री गिरीको अन्त्यष्टी बुधबार, विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने



काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरी अन्त्यष्टी भोलि गरिने भएको छ । बुधबार दिउँसो ३ बजे पशुपतिको शवदाह गृहमा उनको अन्त्यष्टि गरिने भएको हो ।

निधनअघि गिरीले विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न भनेकाले त्यही अनुरुप गर्न लागिएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज निवासमै राखिएको छ ।

पूर्व प्रधानमन्त्री गिरीको आज बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

कलेजोमा क्यान्सर रोग लागेका उहाँ यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा आज बिहानै उहाँको देहान्त भएको हो । डा. तुलसी गिरी राजाले शासन सत्ता हातमा लिएका बेला पटक पटक प्रधानमन्त्री भएका थिए ।

२०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि उनी फस्र्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिजए । पछि उनी प्रधानमन्त्री भए । यसअघि उनी नेपाली कांग्रेसको सरकारमा परराष्ट्र मन्त्री भएका थिए ।

राजा ज्ञानेन्द्रले २०५९ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन सुरु गरेपछि उनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष भएका थिए । नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिए ।

महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति फर्किए र मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिए । राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए ।

यसैबीच, पूर्व प्रधानमन्त्री गिरीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न दलका शीर्ष नेताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।


क्लिकमान्डु