सिञ्जाली पुरुष धन कमाउन ‘कालापहाड’ गए, जुम्लाका गाउँ महिलामय



सिञ्जा । यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारत जाने गरेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ ।

जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् । त्यसमध्येको एक प्रतिनिधि गाउँ हो यहाँको कोइरेली गाउँ । कोइरेली गाउँमा युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् ।

कोइरेली गाउँका हरेक बस्तीमा अहिले पुरुष भेटाउन असम्भव छ । गाउँमा पुरुष नहुँदा कुनै अप्रिय घटना नघटोस् भनेर महिलाले पूरै गाउँको रातदिन रेखदेख गर्नुपर्ने स्थानीय जयलक्ष्मी बुढा बताउँछिन् ।

गाउँका महिला दिनमा स्याउला, सोत्तर तथा दाउरा सङ्कलन गर्न वा अन्य कुनै काममा निस्किएको बेला घरमा भएका अन्य महिलाले सिङ्गो गाउँनै रेखदेख गर्ने गरेको रामलक्ष्मी रोकायाले बताइन् ।

“पुरुष कालापहाड गएपछि गाउँ शून्य छ, कोही मर्दा मलामी जाने र आवश्यक पर्दा पछाडी हिँड्ने लोग्नेमान्छे छैन”, उनले भनिन्, “जिल्लामा हिंसाका घटना बढिरहेका छन् । यो बेला हाम्रो गाउँमा कुनै अप्रिय घटना नघटोस् भनेर हामी आफैँ गाउँ कुर्न थालेका हौँ ।”

महिलाकै अगुवाइमा कोइरेली गाउँ मानव अधिकारमैत्री बनेको छ भने छाउपडी, बालविवाह, मद्यपान र धूमपानमुक्त समाज घोषणा भइसकेको छ । सिञ्जा गाउँपालिका– २ मा पर्ने ३८ घरधुरी रहेको यो गाउँ जिल्ला सदरमुकाम भन्दा ४० कोष टाढा पर्छ ।

गरीबी र अशिक्षाका कारण धन कमाउन कालापहाड नै जानुपर्छ भन्ने सोचाइ यस गाउँका पुरुषमा छ । गाउँका पुरुषमध्ये एक युवक नेपाली सेनामा कार्यरत छन् भने अन्य सबै युवा बेरोजगार छन् । मङ्सिर लागेसँगै उनीहरू फुर्सदको समय धन कमाउन भन्दै कालापहाड निस्किएका हुन् ।

यसरी पुरुष एकमुष्ट कालापहाड निस्किने कोइरेली जिल्लाको प्रतिनिधि गाउँ मात्रै हो, तर सिञ्जा क्षेत्रका अधिकांश गाउँमा यतिखेर पुरुषको शून्यता छ । सिञ्जा क्षेत्रसँगै जुम्लाका अधिकांश बेरोजगार पुरुष मङ्सिरदेखि चैत महीनासम्म धन कमाउन कालापहाड जाने गर्दछन् ।

यो समय जुम्लामा घरायसी कामसँगै विकासे गतिविधि पनि खासै नहुने भएकाले यहाँका युवादेखि वृद्धसम्म कालापहाड जान बाध्य छन् । हालसम्म जुम्लाबाट के कति पुरुष कालापहाड छिरे भन्ने कसैसँग यकिन तथ्याङ्क नभए पनि यो समयमा कम्तीमा पनि २० हजार पुरुष कालापहाड छिर्ने गरेको अनुमान छ । रासस


क्लिकमान्डु