सफल उद्यमी चौधरी, जो ३ लाखको लगानीमा मासिक ७० हजार कमाउँछन्



दमौली । ढाकाको कपडा उद्योग स्थापना गरी दमौलीका विष्णु चौधरीले त्यसबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

नवलपरासी घर भएका ३० वर्षीय चौधरीले तनहुँको ब्यास नगरपालिका-२ मा २०६६ साल माघमा स्थापना गरेको निखिल ढाका कपडा उद्योगले एक वर्षमा नै उनलाई सफल उद्यमी बनाउन सहयोग त पुर्यायो नै आम्दानीको गतिलो स्रोत पनि बनाइदियो ।

तीन लाखको लगानीमा स्थापना गरेको उद्योगले सबै खर्च कटाएर मासिक ७० हजार आम्दानी गर्दै आएको छ । पहिले टोपी र चोलीमात्र बन्ने गरेपनि समयको परिवर्तन र ग्राहकको मागसँगै अन्य कपडा पनि बन्न थालेपछि उनको ढाका व्यवसायले सफलता प्राप्त गरेको छ ।

ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुम साडीको राम्रो व्यापार हुने गरेको चौधरी बताउँछन् ।

उनले भने,“सबै उपभोक्तालाई समेट्नसक्नु नै ढाका व्यवसायको सफलता हो ।” उनले भनेझैं उद्योगमा ढाकाको कपडा किन्न सबै खाले ग्राहक पुग्छन् । अझ अहिले जाडो मौसम भएकाले टोपी, पछ्यौरा र चौबन्दी बढी बिक्री हुने गरेको उनले बताए ।

उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँमात्र सीमित छैन । उनले तनहुँका ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँ लगायतका ठाउँमा समेत यसको निर्यात गरिरहेका छन् ।

ढाकाको माग एकदमै बढेपनि उनले त्यो मागलाई पूरा गर्न सकेका छैनन् । उनले उद्योगमा तीन जनालाई रोजगारी दिँदै आएको भए पनि अझै केही कामदार आवश्यक परेको बताए । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि ढाकाको कपडा किन्ने गरेका छन् ।

ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताए । ढाकाको कपडा नवलपरासी, कपिलवस्तु र तेह्रथुमबाट ल्याउने गरेको उनले जानकारी दिए ।


क्लिकमान्डु