प्रदेश नं ३ मा सामुदायिक क्याम्पसलाई २२ करोड अनुदान, कुन जिल्लाका कतिवटाले पाउँछन् ?
हेटौँडा । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा प्रदेशका १३ वटा जिल्लाका १०३ वटा क्याम्पसलाई २२ करोड पाँच लाख बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले एउटा कलेजलाई १५ लाखदेखि रु एक करोडसम्म बजेट विनियोजन गरेको हो । प्रदेशको १६४ वटा सामुदायिक क्याम्पसमध्ये पहिलो चरणमा १०३ क्याम्पसका लागि २२ करोड पाँच लाख बजेट विनियोजन भएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।
उनले भने, “थप क्याम्पसलाई पछि आवश्यकताअनुसार रकम वितरण गरिने छ ।” यसरी विनियोजन गरिएको रकम काठमाडौँका १४, काभ्रेपलाञ्चोकको १३, सिन्धुपाल्चोकको १२, सिन्धुलीको १०, चितवनका नौ, धादिङको आठ, ललितपुरको आठ, रामेछापका सात, मकवानपुरको छ, नुवाकोटको छ, दोलखाको पाँच, भक्तपुरको चार र रसुवाको एक क्याम्पसले प्राप्त गर्नेछन् ।
मन्त्रालयका अनुसार कूल २८ करोड बजेट विनियोजन गरेकामा तत्काल आवश्यकताअनुसार २२ करोड पाँच लाख आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हो ।