अमेरिकामा १ अर्बको शेयर निष्काशन गर्ने टेन्सेन्ट म्यूजिकको घोषणा



न्यूयोर्क । चिनियाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ ।

टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृतपनि हुँदैछ । हङकङ स्टक एक्सचेन्जमा बुझाइएको कागजातमा टेन्सेन्ट म्यूजिकको प्रति शेयर मूल्य १३ अमेरिकी डलर तोकिएको छ ।

वालस्ट्रिटमा पहिलोपटक पदार्पण गरेको टेन्सेन्ट म्यूजिकको प्रति शेयर मूल्य तोकिएसँगै कम्पनीको बजार मूल्य २१ अर्ब ३० करोड डलर पुगेको छ । यसै वर्षको शुरुमा गरिएको प्रक्षेपणमा यस म्यूजिक कम्पनीको मूल्य २५ अर्ब डलर वा सोभन्दा बढी हुने अनुमान गरिएको थियो ।

कम्पनीले नौ महिनाको अवधिमा एक अर्ब ९० करोडको कारोबार गरेको र ४७ करोड ४० लाख डलर नाफा गरेको छ । टेन्सेन्टले चीनमा स्पटीफाई जस्तै क्यूक्यू म्यूजिकबाट स्ट्रीमिङ सेवा उपलब्ध गराउँछ । टेन्सेन्टले अमेरिकी कम्पनी वार्नर म्यूजिकको सेवा पनि आफ्ना ग्राहकलाई बिक्री गर्दछ ।

टेन्सेन्ट चीनको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो । यही कम्पनीले चीनमा एक अर्बभन्दा बढी प्रयोगकर्ता रहेको वीच्याट सामाजिक सञ्जाल सञ्चालन गरिरहेको छ ।

यस कम्पनीले गेमिङ र विज्ञापन समेतका अन्य व्यवसाय पनि चलाइरहेको छ । कम्पनीले अनलाइन भिडियो, क्लाउड सर्भिसेज र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता सेवा पनि सञ्चालन गर्न लागेको जनाएको छ ।

चीनका ठूला प्रविधि क्षेत्रका कम्पनीहरु अमेरिकी शेयर बजारमा सूचीकृत हुनेक्रम बढेको छ । यसअघि अलिबाबा र बाइडु पनि अमेरिकामा सूचीकृत भइसकेका छन् । रासस\एएफपी


क्लिकमान्डु