भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेलले दिए राजिनामा



भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेलले पदबाट राजिनामा दिएका छन् । रिजर्ब बैंकको वेवसाइटमा गभर्नर पटेलले निजी कारणबाट पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।

‘पछिल्लो केही वर्षदेखि रिजर्ब बैंकको विभिन्न पदमा बस्नु मेरो लागि सम्मानको विषय हो,म मेरा सहकर्मी तथा निर्देशकहरुलाई धन्यवाद् दिन चाहुन्छु,’पटेलले राजिनामा दिदै उल्लेख गरेको विषय आरबिआईको वेवसाइटमा भनिएको छ ।

आरबिआईका डेपुटी गभर्नर विरल आचार्यले पछिल्लो महिना निकै कडा रुपमा केन्द्रीय बैंकको स्वायत्तताको विषयमा वकालत गरेका थिए । नगदको उपलब्धता,क्रेडिट फ्लो सरकारी नियन्त्रणको विषयमा नरेन्द्र मोदीको सरकार र आरबिआईबीच विवाद रहेको छ ।

पछिल्लो महिना मोदी सरकार र उर्जित पटेलबीचको विवाद सतहमा आएको थियो । भारत सरकारले आरबिआई कानूनको सेक्सन ७ अन्तर्गत विशेष अधिकार लागु गरेर आरबिआईको स्वायत्ततामाथि नियन्त्रण गर्न खोजेको थियो । सरकारले रिजर्व बैंकले ३ लाख ६० हजार करोड भारतीय रुपैयाँ मागेको थियो । जसको आरबिआईले विरोध गरेको थियो । नोबेम्बर ९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

आरबिआई गभर्नर पटेलले राजिनामा दिएपछि भारतीय राजनीतिमा भने ठूलो हलचल ल्याइदिएको छ । प्रतिपक्षी कांग्रेस आईले पहिले देखि नै मोदी सरकारले आरबिआईको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताउदै आएको छ ।

आरबिआई गभर्नर पटेलले राजिनामा दिएपछि भारतीय प्रधानमन्त्री मोदीले दुईवटा ट्वीट गरेका छन् ।

‘डाक्टर उर्जित पटेल निकै नै बौद्धिक क्षमता भएका अर्थशास्त्री हुन्,यनलृ बैकिङ प्रणालीलाई सहि तरिकाले व्यवस्थित गरेका थिए,उनको नेतृत्वमा वित्तीय स्थिरता कायम भएको थियो ’मोदीले ट्वीट गर्दै भने ।

‘उर्जित पटेल निर्विवाद रुपमा व्यवसायिक व्यक्ति हुन्,रिजर्ब बैंकको डेपुटी गभर्नर र गभर्नरको रुपमा उनको काम सधै सम्झनायोग्य हुने छ,उनले एउटा महान विरासत छाडेर गएका छन्,’मोदीले ट्वीट गर्दै भने ।

भारतीय अर्थमन्त्री अरुण जेट्लीले ट्वीट मार्फत उर्जित पटेलको कामको प्रशंसा गरेका छन् ।

विपक्षी कांग्रेसले आधिकारिक रुपमा ट्वीटरमा लेखेको छ,‘आरबिआई गभर्नरको राजिनामाले चौकिदारले लोकतान्त्रिक संस्थाको शोषण गर्नेको नतिजा हो।’


क्लिकमान्डु