कालीमाटीमा भारतबाट वर्षेनि भित्रन्छ २ अर्बको कागती, यस्तो छ आयात विस्थापन गर्ने योजना



काठमाडौं । कालिमाटी बजारमा वार्षिक सवा २ अर्ब रुपैयाँ बराबरको कागती आयात हुने गरेको छ । यति ठूलो मात्रामा हुँदै आएको कागती आयातलाई विस्थापन गर्ने योजना सरकारले अघि बढाएको छ ।

कृषि तथा पशु विकास मन्त्रालय, कृषि विभाग र राष्ट्रिय फलफूल विकास केन्द्रको योजना अन्तर्गत कागती प्रवद्र्धन कार्यक्रम अघि बढाइएको छ । सरकारले यस कार्यक्रमका लागि ६० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

स्थानीय तहमा ४४ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । राष्ट्रिय फलफूल विकास केन्द्रद्वारा सञ्चालित कार्यक्रमको बजेट १५ लाख ६० हजार रुपैयाँ रहेको राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत राजेन्द्र कोइरालाले बताए ।

सरकारले सार्वजनिक तथा निजी जग्गामा व्यवसायीक फलफूल खेती विस्तार गरी फलफूल आयात प्रतिस्थापन एंव निर्यात प्रवद्र्धन गर्न सकिने कोइरालाले बताए ।

अर्घाखाँची, भोजपुर र सुनसरी गरी ३ जिल्लामा कागतीको व्यवसायिक खेती गर्ने क्षेत्रको रुपमा मानिने भएपनि खासै राम्रो उत्पादन भने हुन नसकेको उनले बताए ।

यस्तै, यो कार्यक्रम अन्तर्गत गुल्मीको मालिका, मदाने, धुर्कोट, इश्मा गाउपालिका, रेसुङ्गा नगरपालिका र लमजुङ्गको बेसीशहर नगरपालिकामा कागती खेतीलाई तिब्र गतीमा अगाडि बढाइने तयारी सरकारले गरेको उनले बताए ।

कागती खेतीका लागि कृषक छनोटको आधारहरुः
यस कार्यक्रम अन्तर्गत कृषकको कम्तीमा पनि २० रोपनी ब्लक जमिन हुनपर्ने छ भने विरुवा रोप्दा बगैँचाको रेखाङ्कन अनिवार्य गर्नुपर्ने छ ।

विरुवा ५-५ मिटरको दुरीमा ५ रोपनी जग्गाको लागि १०० वटा विरुवा रोप्नु पर्नेछ । प्राविधिक रुपमा उपयुक्त स्थान(जात अनुसार समुन्द्र सतहबाट ४००-१५०० मिटर उचाई र बढीमा ३० डिग्री भिरालो) सम्ममा खेती गर्न सकिने विभागले जानकारी दिएको छ ।

उनले कागती उच्च माग र अत्याधिक निर्यात हुने फलफूलको रुपमा रहेको भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीको तराई, मध्य पहाडी भागमा खेती हुँदै आएको, तर व्यवसायिक र व्यवस्थित बगैँचाको कमी रहेको बताए ।

राष्ट्रिय फलफूल विकास केन्द्रले स्थानीय तहलाई प्राविधिक पृष्ठवोषण तथा अनुगमन गर्ने गरी प्राविधिक कृषि उद्यमी तालिम दिने कोइरालाले बताए ।

‘हामी प्रत्येक स्थानीय तहले किसानलाई कागतीको विरुवा ढुवानी र स्थलगत तालिम दिनुपर्ने छ भने हरेक कार्यक्रमको अनुगमन र व्यवस्थान गर्नु पर्नेछ,’ कोइरालाले भने ।


क्लिकमान्डु