हेटौंडामा बुद्धको मूर्ति बनाउन काठमाण्डौमा १६ लाख संकलन



काठमाण्डौ । हेटौंडा–१८ को हर्नामाडीस्थित कलागाउँका रुपमा परिचित गुम्बाडाँडालाई बौद्धमय बनाउन शाक्यमुनि गौतम बुद्धको २५ फिट अग्लो ढुंगाबाट निर्माण गरी स्थापना गरिने मूर्तिका लागि एकै दिन करिब १६ लाख रुपियाँ संकलन भएको छ ।

मूर्ति निर्माण तदर्थ समितिले काठमाडौंको बौद्धमा आयोजना गरेको एक कार्यक्रममा १६ लाख ४० हजार रुपियाँ सहयोग संकलन भएको हो ।

गत वर्षको बुद्ध पूर्णिमाका दिन शिलान्यास गरिएको मूर्ति निर्माण तथा स्थापना र उक्त स्थानमा पार्कलगायत संरचना निर्माणका लागि करिब ३ करोड खर्च अनुमान गरिएको मूर्ति स्थापना समितिका संयोजक हेटौंडाका समाजसेवी कमलचन्द्र सुमनले बताए ।

उनले मूर्ति स्थापनापछि उक्त क्षेत्रको मुहार फेरिने बताए । उनका अनुसार मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न भवनहरु, पानी ट्यांकी, मनोरञ्जन पार्क, कम्पाउण्डवाल र अन्य संरचना बन्नेछन् ।

कार्यक्रममा सुमनले उक्त क्षेत्रको नेपाल एकीकरणताकाको इतिहास, मूर्ति स्थापनाको अवधारणा, आवश्यकता, उद्देश्य, लागत आदि विषय बस्तुबारे प्रकाश पारेका थिए । प्रदेश–३ सभा सदस्य छिरिङ दोर्जे लामाले स्थानीय र प्रदेश सरकारले यस कार्यमा सहयोग गर्नु जरुरी रहेको बताए ।

उनले आफू आवद्ध दल नेपाली काँग्रेसको तर्फबाट यथाशक्य सहयोग गरिने विश्वास दिलाए । मूर्ति निर्माण तदर्थ समिति अध्यक्ष सम्पूर्णकुमार लामाले बुद्धको शान्तिको सन्देश गाउँगाउँमा पु¥याउनु पर्ने भन्दै आफूहरुले अभियान थालेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बौद्ध धर्मगुरु लोसाङ नाम्गेल रिन्पोछेले धर्म सन्देश व्यक्त गरेको सहयोग संकलन कार्यक्रममा निर्माण समिति सचिव दुर्गामान शाक्यले २०७४ माघमा भएको छलफलले मूर्ति निर्माणको प्रयास थालेको भन्दै आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने अवस्था मूर्ति स्थापनापछि न्यून हुने विश्वास व्यक्त गरे ।

मुक्तिनाथको यात्राबाट बचत भएको १ लाख ४६ हजार रुपियाँ मूर्ति निर्माणमा लगाइएको जानकारी दिंदै अब राराको यात्रा गरी सहयोग संकलन गरिने जनाए ।

उनले मूर्तिलगायत संरचना निर्माणका लागि हेटौंडेली दाताहरुको पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा गुम्बाडाँडाको भौगोलिक अवस्था र त्यहाँ हालसम्म भएका धार्मिक र पर्यटकीय गतिबिधिबारे अमृतबज्र लामाले प्रस्तुतिकरण गरेका थिए ।

गुम्बाडाँडा हेटौंडा बजारबाट करिब १७ किमी पूर्व दक्षिणमा पर्दछ, जहाँ पछिल्लो समय बिदाका दिन आन्तरिक र वाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

गुम्बाडाँडा क्षेत्रमा रहेको बस्ती हटाएर २०३५ सालमा मानिसलाई चितवन पठाइएको थियो । २०४२ सालमा उक्त क्षेत्रमा वृक्षरोपण भयो । संरचनागतरुपमा सरकारी जमिन देखिएकाले २०५४ सालमा गुम्बाको स्थापना भएको रेकर्ड छ ।


क्लिकमान्डु