एन्पिनोगले मंसिर २३ गतेदेखि काठमाडौंमा सुचना प्रविधि सम्मेलन गर्ने



काठमाडौं । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले मंसिर २३ देखि २८ गतेसम्म एनपिएनओजी–४ नामक ६ दिने कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुकाबीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदान प्रदान हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्ने आयोजकको विश्वास छ ।

काठमाडौंमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो दिन प्राबिधिक सम्मेलनको आयोजना गरिनेछ । बाँकी दिन प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ । पाँच दिने कार्यशाला गोष्ठीमा चार विषयमा कार्यशाला गरिने छन् ।

कार्यशाला गोष्ठीमा एन्पिनोगका सदस्य विशेषज्ञहरुका साथै अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ज्ञान एवं शीप प्रदान गर्ने बताइएको छ । यो कार्यक्रम स्नातक तहका अन्तिम वर्षमा अध्ययनर विद्यार्थी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुने आयोजकले बताएको छ ।

गोष्ठीमा सहभागी हुन चाहने विद्यार्थीहरुका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकको भनाइ छ । यसैगरी कार्यक्रममा सहभागी हुन चाहनेमध्ये महिला सहभागीहरुलाई २५ प्रतिशत छुट प्रश्नावली एवं दर्ताको आधारमा प्रधान गरिएको छ ।

कार्यक्रमको पहिलो दिन आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिने कार्यक्रम छ ।

एन्पिनोगका अध्यक्ष समित जनाका अनुसार यो कार्यक्रमले सूचना तथा संचार प्रविधिको विश्वस्तरीय ज्ञान आदान प्रदान गर्दै नेपालमा यसक्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुरयाउने छ ।

कार्यक्रमको सहआयोजकको रुपमा इन्टरनेट एक्सचेञ्ज नेपाल रहेको छ भने कार्यक्रमलाई नेपाल दुरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ र इन्टरेट सोसाइटी नेपाल च्याप्टरले साथ दिएका छन् ।


क्लिकमान्डु