राष्ट्रिय वाणिज्य बैंकको बिजनेश मिट, व्यवसाय बृद्धि गर्न प्रबन्धकहरुलाई निर्देशन
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवसाय बृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढी कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित बिजनेश मिट २०७५ चितवनको सौराहमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकको निक्षेप, कर्जा, ईबैंकिङ, गैर कोषमा आधारित व्यवसाय बृद्धिका लागि व्यापक रुपमा छलफल भई रणनीति तय गरिएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसञ्जाल ठूलो भएको हुँदा रावा बैंकले नै मार्केटलाई डोर्याउनुपर्ने दायित्व रहेकाले व्यवसाय बृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिएका थिए ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायव महाप्रवन्धकहरु केशबप्रसाद लम्साल, टेकराज जोशी, विभागीय प्रमुखहरु, क्षेत्रीय प्रवन्धकहरु लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ । १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।