लक्ष्य भन्दा बढी उठ्यो भन्सार महसुल, ४ महिनामा १ खर्ब ३० अर्ब संकलन




काठमाडौं । यो आर्थिक वर्षको ४ महिनामा भन्सार महसूल लक्ष्य भन्दा बढी उठेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा भन्सार महसुल १ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ हराहारीमा संकलन भएको हो ।

भन्सार विभागले ४ महिनामा १ अर्ब २५ अर्ब ९१ करोड रुपैयाँ बराबर भन्सार महसुल उठाउने लक्ष्य तोकिएको थियो । सो अवधिमा विभागले आफ्नो लक्ष्य भन्दा ३.४२ प्रतिशत बढी भन्सार महसुल उठाउन सफल भएको भन्सार विभागले जानकारी दिएको छ ।

भन्सार विभागका तथ्यांक अधिकृत रामप्रशाद वाग्लेले लक्ष्यभन्दा बढी भन्सार महसुल उठेको जानकारी दिए ।

‘यो वर्ष भन्सार महसुल बढी संकलन हुनुको खासै ठूलो कारण केही हैन, भन्सार शुल्क बढेकोले नै भन्सार महसुल बढेको हुनसक्छ, लक्ष्यको ३.४२ प्रतिशत बढे पनि यसमा सन्तुष्ट हुन भने सकिदैन,’ वाग्लेले भने ।

उनले भन्सार महसुल अझै बढी उठ्न सक्ने संकेत गरे ।

विभागले प्रतिदिन १ अर्ब रुपैयाँको हाराहारीमा भन्सार महसुल उठाउने लक्ष्य लिएको छ ।

विभागले चालु आर्थिक वर्षमा ४ खर्ब १८ अर्ब रुपैयाँ भन्सार महसुल संकलन गर्ने लक्ष्य लिएको छ ।

गत आर्थिक वर्षमा भन्सार विभागले ३ खर्ब २५ अर्ब ७२ करोड रुपैयाँ बराबर भन्सार महसुल संकलन गर्ने लक्ष्य बोकेको थियो । सो वर्ष भन्सारहरुबाट ३ खर्ब १६ अर्ब ६६ करोड रुपैयाँ बराबर भन्सार महसुल संकलन भएको थियो । गत आर्थिक वर्ष विभागले लक्ष्यको ९७.२२ प्रतिशत भन्सार महसुल संकलन गर्न सफल भएको हो ।

यस्तै २०७३÷७४ सालमा विभागले २ अर्ब ४६ अर्ब ५ करोड रुपैयाँ बराबर भन्सार महसुल संकलन गर्ने लक्ष्य लिएको थियो भने सो वर्ष २ खर्ब ५४ अर्ब ५४ करोड रुपैयाँ बराबर भन्सार महसुल संकलन भएको थियो ।

२०७२÷७३ सालमा विभागले २ खर्ब ५ अर्ब ८६ करोड रुपैयाँ बराबर भन्सार महसुल उठाउने लक्ष्य दिएको थियो । सो वर्ष १ खर्ब ९४ अर्ब ८८ करोड रुपैयाँ बराबर भन्सार महसुल उठाएको थियो ।


क्लिकमान्डु