करवृद्धि योजना तत्काल स्थगित गर्ने सहमतिसँगै चीन र हङकङको सेयरबजारमा सुधार



file Photo

साङ्घाई । संयुक्तराज्य अमेरिका र चीनबीच जारी करवृद्धि योजना तत्काल स्थगित गर्ने सहमति भएसँगै चीन र हङकङको सेयरबजारमा सोमबार सकारात्मक असर परेको छ ।

सोमबार दुवै ठाउँमा सेयरबजार उकालो लाग्नुका साथै चिनियाँ मुद्रा युआन केही बलियो भएको छ ।

साङ्घाई कम्पोजिट इन्डेक्स २ दशमलब ५७ अंकले बढेर दुई हजार ६५४ विन्दुमा पुगेको छ अर्थात् करिब ६७ विन्दुले सेयरबजारमा सुधार आएको छ । चीनकै दोस्रो बजार सेन्जेन कम्पोजिट इन्डेक्स पनि ३ दशमलब २७ प्रतिशतले वृद्धि भई एक हजार ३८२ अंकमा बन्द भएको छ ।

हङकङको बजारमा पनि सुधार आएको छ । सेयरबजार २ दशमलब ५५ प्रतिशतले वृद्धि भएको छ र बजारको परिसूचक २७ हजार १८२ मा पुगेको छ ।

चिनियाँ मुद्रा युआनमा सुधार आई झण्डै १ प्रतिशतले वृद्धि भएको छ, र एक अमेरिकी डलरको ६ दशमलब ८९१४ युआनमा कारोबार भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनाको ब्युनस आयर्समा सम्पन्न जी-२० को बैठकका अवसरमा नयाँ करवृद्धिका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने सहमति भएको थियो ।

झेसाङ सेक्युरिटिजका विश्लेषक झाङ यानबिङले व्यापारिक सहमतिले चीनमा मध्यकालीनदेखि दीर्घकालीन असर पर्न सक्ने बताए ।

“पछिल्लो व्यापारिक सहमतिले व्यापार युद्धका कारण सबैभन्दा बढी प्रभावित पारेका उद्योगहरुमा ठूलो राहत मिलेको छ, जस्तै दूरसञ्चार । लगानीकर्ताहरुले दुवै मुलुकबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ हेर्नुपर्ने हुन्छ ।” उनले भने । रासस\एएफपी


क्लिकमान्डु