हिमालयन बैंकले यो बर्ष थप ७० जनालाई रोजगारी दिने (भिडियो सहित)




काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षमा नै थप ७० जना जतिलाई रोजगारी दिने भएको छ । बैंकले यो बर्ष थप गर्न लागेको ७ वटा शाखाको लागि नयाँ कर्मचारी लिइने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले बताए ।

‘यो बर्ष तोकिएका पालिका बाहेक थप ७ वटा जति शाखा विस्तार गर्दैछौं, राष्ट्र बैंकले भने अनुसार तोकिएका पालिकाहरुमा र नयाँ शाखाको लागि गरेर ७० जना जति नयाँ कर्मचारी थपिन्छ,’ राणाले भने ।

उनले आफ्नो बैंकका कर्मचारीले पाउने सेवा सुविधाको विषयमा कुनै तलमाथि नपर्ने पनि वताए । विगतदेखि नै कर्मचारीको सेवा शर्तका बारेमा हिमालयन बैंक सचेत रहेको भन्दै उनले श्रम ऐन, प्रचलित कानुन र नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेका शर्तहरु आफूहरुले पूरा गर्ने उनको भनाइ छ ।

हिमालयन बैंकमा कर्मचारीको सेवा शर्त राम्रो भएकोले सो बैंकमा जागिर खान चाहनेको संख्या धेरै रहेको बताइन्छ ।

प्रमुख कार्यकारी अधिकृत राणाले विगतमा आफ्नो बैंकले कर्मचारी करारमा नराखी कर्मचारी सेवा सुविधामा खर्च धेरै गरेकोले अन्य बैंकहरुको तुलनामा आफ्नो बैंकको कर्मचारी खर्च पनि धेरै भएको बताए । यस्तै आफ्नो बैंकले कुनै स्थानमा नयाँ शाखा स्थापना गर्दा पनि एउटा स्ट्याण्डर्ड पालना गर्ने गरिएको उनको भनाइ छ ।


क्लिकमान्डु