कामु सिइओ रोशनकुमार न्यौपाने एनआईसी एसियाको सिइओमा नियुक्त



काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको आज बसेको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नियुक्त गरेको छ । उनकाे कार्यकाल ४ वर्षकाे लागि ताेकिएकाे छ ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत भए पश्चात न्यौपानेले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।

न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम सञ्जाल लगायतका परिसूचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको जनाइएको छ ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा कार्य गर्दै आएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । न्यौपाने चार्टड एकाउण्टेण्ट समेत हुन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आजै बैंकका संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

नववियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकका समस्त ग्राहकहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरीे समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

साथै उनले-“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने बैंकको नारालाई मुर्तरुप दिन सम्पूर्ण बैंक परिवार हरहमेसा प्रतिबद्ध रहने प्रण गरे ।


क्लिकमान्डु