स्वीजरल्याण्डको बीपीसीसँग आइमार्कको सहकार्य



काठमाण्डौ । नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतीय प्रणाली मार्फत सहज बनाउन स्विजरल्याण्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ ।

बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ ।

स्मार्ट भिस्टाले विश्वका कयौँ बैंक तथा वित्तीय संस्थाहरुको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एशिया प्याशेफिकका प्रबन्ध निर्देशक राजन एस नारायणले सो प्रविधिका बारेमा जानकारी गराए ।

उनले भने, ‘स्मार्ट भिस्टाले अहिलेको समाजलाई क्यास लेस समाजमा रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्छ ।’ उनका अनुसार समग्र क्षेत्रका संस्थाहरु डिजिटल बैंकिङ प्रणालीमा आवद्ध भएर लाभान्वित हुन सक्नेछन् । यसले ब्यापार र समग्र क्षेत्रको भुक्तानीलाई सहज बनाउनेछ ।

बीपीसी बैंकिङ टेक्नोलोजीको स्थापना सन् १९९५ मा भएको हो । जसको नेपाल साझेदारका रुपमा सन २००७ मा स्थापना भएको आइमार्क प्रालि रहेको छ । जसले हालसम्म नेपालका करिब ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुलाई विविध रुपमा क्यास लेस सोसाइटीको निमार्णमा सहजीकरण गर्दै आएको छ ।

बीपीसी बैंकिङ टेक्नोलोजीको स्मार्ट भिस्टा एटिएम स्वीच विश्वका ७३ भन्दा बढी देशका दुई सय भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले प्रयोग गर्दै आईरहेका छन् ।

सो अवसरमा आइमार्क प्रालिका प्रबन्ध निर्देशक रामप्रसाद ढुंगानाले विश्वसनीय भुक्तानी माध्यमका रुपमा सेवा दिन र सेवा पछि पनि बलियो सम्बन्ध विस्तारका लागि आइमार्क कटिवद्ध रहेको बताए ।

आइमार्कले नेपालको बैंकिङ क्षेत्रलाई डिजिटलाइज गराउन विगत एघार बर्षदेखि एक दर्जन बढी वाणिज्य बैंकहरुसँग सहकार्य गर्दै आईरहेको छ । आइमार्क भुक्तानीको माध्यममात्र नभई बैंकिङ क्षेत्रको समग्र प्राविधिक भुक्तानीको अन्वेषक पनि भएको बताइएको छ ।


क्लिकमान्डु