बीमा विधेयकको छलफलमा बीमा समिति अध्यक्ष चापागाईँलाई नै प्रवेश निषेध



काठमाडौं । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले बीमा सम्बन्धी विधेयकलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमा सैद्दान्तिक छलफलको लागि बैठक बोलाएको थियो ।

निर्धारित समयभन्दा ढिला सुरु भएको बैठकमा अर्थमन्त्रालयले बीमा सम्बन्धी विधेयकको सैद्दान्तिक विषयमा सांसद्हरुलाई जानकारी दिने कार्यक्रम दियो ।
कार्यक्रममा आउनुपर्ने अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगाना लगायत अर्थमन्त्रालयका अधिकारीपनि आइपुगेका थिएनन् ।

समितिका सभापति रहेका सभापति कृष्णप्रसाद दाहालले सचिव आएपछि सैद्धान्तिक छलफलको प्रक्रिया सुरु हुने जानकारी सांसद्हरुलाई दिए । त्यही बेला बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँ अर्थसमितिको बैठकमा छिरे ।
चापागाई बैठकमा छिर्नको लागि ढोकाबाट प्रवेश गर्न लाग्दा समिति सभापति दाहालले तपाईहरुलाई आज बोलाएको छैन भन्ने जानकारी दिए ।

‘संसद्मा विधेयक अर्थमन्त्रालयले पेश गरेको हुँदा यसको सैद्दान्तिक छलफल अर्थमन्त्रालयबाट सुरु हुन्छ,समितिलाई पछि बैठकमा बोलाइने छ,’समिति सभापति दाहालले बीमा समितिका अध्यक्ष चापागाईँलाई भने । त्यसपछि चापागाईँ हलभित्र छिरेनन् । संसदीय समितिले गर्ने छलफलमा नबोलाएको व्यक्तिलाई प्रवेश दिने गरिदैन ।

समितिले अर्थमन्त्रालयले सैद्दान्तिक जानकारी दिएपछि बीमासँग सरोकार राख्ने सबैसँग छलफल गर्ने जनाएको छ ।


क्लिकमान्डु