अर्थमन्त्री खतिवडाको निर्णयलाई सर्बोच्चले उल्टायो, महालक्ष्मीलाई लाइसेन्स दिनु



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गरेका निर्णयलाई सर्बोच्च अदालतले उल्टाएको छ ।

सर्बोच्चले यसअघि नै महालक्ष्मीलाई लाइसेन्स दिन फैसला गरेको थियो । जस अनुसार बीमा समितिले लाइसेन्सको स्वीकृतिको लागि अर्थमन्त्रालय पठाएको थियो ।

अर्थमन्त्री खतिवडाको निर्देशन अनुसार अर्थमन्त्रालयले नयाँ लाइसेन्स नदिन र सर्बोच्चको निर्णयलाई पुनरावलोकन गर्न निवेदन दिन समितिलाई भनेको थिए । समितिले सो अनुसार पुनरावलोकनको निवेदन दिएपनि सर्बोच्चको पूर्ण इजलाशले त्यसलाई अस्विकार गरेको छ ।

सर्बोच्चको शुक्रबार गरेको फैसलासँगै महालक्ष्मीलाई लाइसेन्स लिने बाटो खुल्ला भएको छ । बीमा समितिले गतवर्ष नयाँ कम्पनीलाई लाइसेन्स दिदा महालक्ष्मीपनि प्रक्रियामा थियो । तर,तोकिएको समयमा चुक्ता पुँजी नपुर्याएपछि समितिले महालक्ष्मीलाई लाइसेन्स दिएको थिएन ।

त्यसको विरुद्ध महालक्ष्मी सर्बोच्च अदालत गएको थियो । सर्बोच्चले लाइसेन्सको अनुमति दिने फैसला गरेको थियो । २ अर्ब चुक्ता पुँजी रहेको महालक्ष्मीमा संस्थापकले १ अर्ब ४० करोड रुपैयाँ हालेका छन् ।

अर्थमन्त्री खतिवडा थप लाइसेन्स दिएकोमा नै समितिसँग असन्तुष्ट थिए । उनले नयाँ बीमा ऐन आउन लागेको र सो अनुसार अहिले नयाँ कम्पनीको लाइसेन्स दिनु उपयुक्त नहुने राय दिएका थिए ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको लाइसेन्स आफै दिने भएपनि जीवन बीमा कम्पनीको लागि अर्थमन्त्रालयको अनुमति चाहिने गर्छ । गतवर्ष समितिले ९ वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । महालक्ष्मी थपिएपछि जीवन बीमा कम्पनीको संख्या १९ पुग्ने छ ।


क्लिकमान्डु