क्यानडा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ, सातदेखि १२ लाखसम्म ठगी
काठमाडौँ । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई आज पुतलीसडकबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा-९ की सुनिता तिवारी बाइवा हुन् ।
क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पुर्याई पीडितबाट प्रतिव्यक्ति सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
बाइवालाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिई काठमाडौँको पुतलीसडकमा कार्यालय खोलेर विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात् नेपालबाट भारतको नयाँदिल्लीलगायतका विभिन्न स्थानमा पुर्याई महीनौँसम्म राखेर शोषण गरी पीडितलाई अलपत्र पारी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।