मैत्रीपूर्ण फुटबलमा कर प्रशासकलाई व्यापारीले हराए




काठमाण्डौ । निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटवल प्रतियोगिता नेपाल उद्योग वाणिज्य महासंघले जितेको छ ।

निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आन्तरिक राजश्व विभागबाट उक्त प्रतियोगितामा सहभागिता जनाइएको थियो ।

खेलमा महासंघले ३ गोल गरेको थियो भने विभागका तर्फबाट एक गोल भएको थियो । महासंघको आयोजना र आन्तरिक राजश्व विभागको सह–आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको हो ।

खेलको पहिलो हाफको अन्तिम समयमा महासंघको तर्फका डी एरियामा फल गरिएपछि पाएको पेनल्टीमा विभागका तर्फबाट रूपेश थापामगरले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको प्रारम्भ मै महासंघका तर्फबाट जर्सी नम्वर ६ का खेलाडी रामनाथ श्रेष्ठले गोल गरी निजी क्षेत्रलाई पहिलो गोल उपहार दिएका थिए भने लगत्तै जर्सी नम्वर २० का खेलाडी लक्ष्मी त्रिपाठीले दोस्रो र तेस्रो गोल गरी निजी क्षेत्रलाई फराकिलो अग्रता दिलाएका थिए ।

खेल आज विहान ८ बजे आर्मी अफिसर्स क्लबको फुटबल मैदानमा खेलाइएको थियो । प्रतियोगिताको माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।

खेलमा निजी क्षेत्रको नेतृत्व अध्यक्ष राणा र विभागको नेतृत्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले गरेका थिए । खेलमा दुवै तर्फका करिव ४० जना खेलाडीहरू छनौट गरिएको थियो । खेलमा महासंघका खेलाडीहरू सेतो जर्सी र विभागका खेलाडीहरू निलो जर्सीमा थिए ।

महासंघका अध्यक्ष सहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सहित कार्यकारिणी समितिका सदस्यहरूले पनि खेलमा भाग लिएका थिए ।

सातौं राष्ट्रिय कर दिवस अवसरमा कर प्रशासन र निजी क्षेत्र बीच सम्बन्ध प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि अर्थमन्त्री खतिवडा, महासंघका अध्यक्ष राणा र प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रतियोगिताको सफलताका लागि शुभ–कामना दिएका थिए ।

कार्यक्रमको अन्त्यमा महासंघका अध्यक्ष राणा र विभागका महानिर्देशक नेपालले संयुक्त रूपमा विजयी खेलाडीलाई कप हस्तान्तरण गरे भने विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गरे । साथै उपविजेता विभागका खेलाडीहरूलाई महासंघका अध्यक्ष राणाले प्रमाणपत्र वितरण गरिन् ।


क्लिकमान्डु