स्थानीय तहमा रोजगार सेवा केन्द्र खोल्न दरबन्दी स्वीकृत



काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र खोल्न दरबन्दी स्वीकृत भएको छ ।

मन्त्रीपरिषद् बैठकले सेवाकेन्द्र खोल्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रीपरिषद बैठकले सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न पनि स्विकृति दिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए ।

४८ वटा स्थानीय तहमा नासु सरहका संयोजक र बाँकीमा शाखा अधिकृत सरहका संयोजक नियुक्ति हुनेछन् । १० हजारभन्दा कम जनसंख्या भएका हिमाली जिल्लाका स्थानीय तहमा नासु स्तरका रोजगार संयोजक रहने बताइएको छ ।

संयोजकहरुले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तह दुबै प्रति उत्तरदायी भएर काम गर्नु पर्नेछ। सेवा केन्द्र संयोजकले प्रदेशको सम्बन्धित विषय हेर्ने मन्त्रालयसँग पनि समन्वय गर्नु पर्ने छ ।

रोजगार सेवा केन्द्रबाट गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची स्वीकृतिका लागि गाउँ वा नगरपालिकामा पेश गरिने छ ।

स्वीकृत भएको बेरोजगार व्यक्तिको सूचीलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी सूचीकृत गर्ने र सूचीकृत बेरोजगारलाई लावग्राहीको परिचयपत्र वितरण गरिने छ । सेवा केन्द्रले रोजगारीका अवसरहरुको पनि अभिलेख राख्नेछ ।


क्लिकमान्डु