कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा रेग्मी नियुक्त



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा डा पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठनको स्वीकृति दिएको थियो । मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश योजना आयोगमा प्रदेश सरकारका प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

रामपुर कृषि क्याम्पसका प्राध्यापक रेग्मीले कृषि विज्ञानमा विद्यावारिधि गरेका छन् । दैलेखनारायण नगरपालिका-३ निवासी रेग्मीले यसअघि युवा स्वरोजगार कोषको उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

हुम्ला सर्केगाड गाउँपालिका निवासी डा रोकायले राजनीति शास्त्रमा विद्यावारिधि हासिल गरेका छन् । उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

त्यस्तै, दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका निवासी अर्का सदस्य शाहीले राष्ट्रिय युवा नीति कार्यदलको संयोजक र विश्व युवा परिषद्को उपाध्यक्ष भएर काम गरिसकेका छन् ।


क्लिकमान्डु