चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय



काठमाण्डौ । समलिंगी यौन सम्बन्धमा आधारित उपन्यास लेखेर त्यसको बेचबिखन गरेको आरोपमा चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । लिउ नाम गरेकी लेखिकालाई अन्हुई प्रान्तको एक अदालतले गएको महिना ‘अश्लिल सामग्री’ लेखेको तथा त्यसको बिक्री वितरण गरेको आरोपमा जेल सजाय दिएको हो ।

‘अक्युपेशन’ शीर्षकको उपन्यास पुरुषको समलैंगिक सम्बन्धमा आधारित रहेको छ । पुस्तकमा उत्पीडन तथा पीडादायक यौनिक गतिविधिबारे उल्लेख गरिएको छ । लेखिकालाई दिइएको सजायको अवधि लामो भएको भन्दै चीनको सामाजिक सञ्जालमा यसमा विरोध भइरहेको छ ।

लिउले सजायविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् । चीनमा पोर्नोग्राफी गैरकानुनी हो । लिउको उपन्यास अनलाइन माध्यममा लोकप्रिय हुन थालेपछि प्रहरीलाई खबर गरिएको हो ।

लिउको अक्युपेशनसहित यौनमा आधारित अरु पुस्तकहरु सात हजार भन्दा बढी प्रति बिक्री भएको बताइएको छ । यसबाट उनले डेढ लाख युआन मुनाफा कमाएकी छन् । (एजेन्सीहरुबाट)


क्लिकमान्डु