हरि बोधिनी एकादशी पर्वमा तुलसीको विवाह गरिंदै




काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महिनामा विवाह ब्रतवन्ध जस्ता माङलिक कार्य नगरिने परम्परा छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिका रुपमा लिइन्छ ।

मोदीले दिएको चन्दन भक्तजनलाई अर्पण गरिंदै
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिनुभएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा आजदेखि चढाइने भएको छ ।

विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गर्नुभएको थियो । पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि आजदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गर्नु भएको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

केही स्थानीय तहमा सार्वजनिक बिदा
हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन आज केही स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रका सबै कार्यालयमा आज बिदा दिएको छ ।

हरिबोधनी एकादशीमा चाँगुनारायणमा बिशेष मेला लाग्ने गरेको छ । नगरपालिकाले बिशेष मेलाकै कारण बिदा दिएको हो । त्यस्तै सिन्धुलीको दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र समुदायले हरिबोधनी अर्थात बड्की एकादशीका रुपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए ।


क्लिकमान्डु