श्रीलंकाली राष्ट्रपतिद्वारा वार्ता आह्वान, कसरी अन्त्य होला राजनीतिक संकट ?



कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका छन् ।

गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ ।

राष्ट्रपति सिरिसेनाले महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्त अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका विक्रमासिङ्घेले अदालतमा मुद्दा दायर गरेका थिए । साथै, पुनस्र्थापित संसदले मतदान गरी राजापाक्षलाई पदबाट हटाएको छ ।

रनिल विक्रमासिङ्घेले आफू अझै मुलुकको प्रधानमन्त्री रहेको दाबी गरिरहेका छन् ।

“राष्ट्रपति सिरिसेनाले संसदमा रहेका दलका प्रतिनिधिहरुसँग आज बैठक डाक्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जनाएको छ । “राष्ट्रपतिले हालको राजनीतिक अस्थिरता र द्वन्द्वको अवस्था अन्त्य गर्न बैठक बोलाउनु भएको हो । उहाँले संसदको कार्यवाहीलाई नियमित गर्न चाहनु भएको छ ।”

गतसाता राजापाक्ष पक्षधरका सांसदहरुले अविश्वासको प्रस्तावमाथि छलफल हुन नदिन संसदमा फर्निचर तोडफोड गर्नुका साथै विपक्षीहरुमाथि खोर्सानीको धूलो फालेका थिए ।

राजापाक्षका विपक्षमा शुक्रबार भएको दोस्रो मतदानपछि विक्रमासिङ्घेले आफ्नो सरकार पुनस्र्थापित हुनुपर्ने माग गर्नुभएको थियो, तर राष्ट्रपति सिरिसेनाका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

विक्रमासिङ्घेले श्रीलंकामा स्थायित्व आवश्यक रहेको बताउँदै संवैधानिक सङ्कट निम्त्याउने गरी शक्ति सङ्घर्ष भएपनि आफू राष्ट्रपतिसँग मिलेर कार्य गर्न तयार रहेको स्पष्ट गरे ।

राष्ट्रपतिले विक्रमासिङ्घेलाई पदच्यूत गरेपछि नोभेम्बर ९ मा संसद समेत विघटन गर्नुभएको थियो, तर सर्वोच्च अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गर्नुका साथै संसद पुनस्र्थापना गरेको थियो ।

उन्नाइस दिनदेखि श्रीलंकाको प्रधानमन्त्रीमा दुई नेताले दाबी गरिरहेका थिए, तर बिहीबार संसदका सभामुख कारु जयसुरियाले कुनै पनि नेतालाई प्रधानमन्त्रीका रुपमा मान्यता दिन असफल हुनुभएको छ । उक्त कदमसँगै आधिकारिक रुपमा श्रीलंकामा सरकार छैन । रासस\एएफपी


क्लिकमान्डु