काँग्रेस नेता केसी भन्छन्-प्रधानमन्त्री ओली जंगबहादुर, स्टालिन र हिटलर बन्न खोजे



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भीर आरोप लगाएका छन् ।

उनले भने,‘प्रधानमन्त्रीले काम भन्दा बढी कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्दत हुनुहुन्छ । उहाँमा सत्ता र शक्तिको उन्माद देखियो । प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहादुर बन्ने आकांक्षा तीव्र रुपमा विकसित भएको छ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ रहेको सुनाउँदै भने,‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन् । अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ ।’

फरक प्रसँगमा उनले पार्टीको विधानबारे गम्भीर छलफल हुने जनाए । मस्यौदा समितिले विधान अहिलेसम्म केन्द्रीय कार्य समितिमा पेश गर्न नसकेको पनि उनले सुनाए । उनले भने,‘विधानका सम्बन्धमा सबैका आ–आफ्ना धारणाहरु हुन्छन् । तर, हामी अन्तिम निश्कर्षमा पुर्याउँछौं ।’

उनले अब पार्टी नेताप्रधान नभएर नीतिप्रधान हुनुपर्नेमा पनि जोड दिए । ‘पार्टी व्यक्तिप्रधान होईन अब संस्थाप्रधान हुनुपर्छ’–केसीले भने,‘अब पार्टीलाई सामूहिक नेतृत्व पद्धतीमा लैजानुपर्छ । मैले त यो कुरा बारम्बार भन्दै आएको छु ।’

पार्टीको केन्द्र्रीय कार्य समिति बैठक भोलि बोलाईएको भएपनि बैठकका एजेण्डाहरु अहिलेसम्म थाहा नभएको उनले जनाए । उनले भने,‘भोलि बैठक छ । तर, अहिलेसम्म एजेण्डा थाहा छैन् । हुन त मंसिर २ गते नेविसंघ वर्तमान कार्यसमितिको पदावधि सकिँदैछ । सम्भवतः यही विषयमा छलफल हुन्छ होला भनेर मैलेपनि लख काट्ने काम गरेको छु ।’


क्लिकमान्डु