मध्य-अमेरिकी आप्रवासीहरु अमेरिकी सीमामा, केहीले पर्खाल नाघे



तिजुआना, मेक्सिको । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा आइपुगेका छन् ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।

मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा पुगेका थिए । अमेरिकी सीमासुरक्षा बललाई देख्नासाथ उनीहरु पुनः मेक्सिकोतर्फ फर्किएका थिए ।

“हामी अपराधी होइनौं,” उनीहरुमध्ये केहीले ठूलो स्वरमा चिच्याएका थिए । उनीहरुको आवाज राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा आइपुग्नै लाग्दा सीमामा करिब छ हजार थप सैनिक परिचालन गर्न आदेश दिएका छन् ।

अर्को मुख्य समूहमा करिब चार हजार सहभागी छन् । उनीहरु पनि केही दिनभित्रै सीमामा आइपुग्ने बताइएको छ । आफ्नो देशमा व्याप्त गरिबी र हिंसाका कारण देश छाडेको बताउने यी मानिसहरु अमेरिकामा आप्रवासी हुन चाहन्छन् ।

कम्तीमा पनि नौ जना आप्रवासी अमेरिकी भूमिमा प्रवेश गरिसकेका छन् र उनीहरुलाई सीमासुरक्षा बलले पक्राउ गरेको छ । यीमध्ये चार बालबच्चा सहित एक आमा र १९ वर्षकी गर्भवती रहेका छन् । उनीहरु होन्डुरसका नागरिक हुन् ।

“उनी अमेरिका गइहालिन् । मलाई थाहै थिएन, उनी त अमेरिकाभित्र गइसकिछन्,” उनका १७ वर्षे पति मोजेज हर्नान्डेजले बताए । “मैले बुझेको छु । उनी नयाँ जीवनको खोजीमा छिन् । हामी हाम्रो देशमा व्याप्त गरिबीबाट आजित भइसकेका थियौं ।”

गत साता राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कानुनी विधि अनुसरण नगरी अमेरिका प्रवेश गर्नेलाई शरणार्थीको मान्यता नदिने उल्लेख छ । त्यस्ता व्यक्तिलाई स्वदेश फर्काइने छ ।

तिजुआनमा भेला भएका धेरैजसो आप्रवासीहरुले सीमा पार गर्नुअघि समूहका अरु सदस्यलाई पनि पर्खिने बताएका छन् ।

सीमाको अर्कोतर्फ अमेरिकाको टेक्सास भ्रमणमा रहेका रक्षामन्त्री म्याटिसले अमेरिकी सीमासुरक्षा बललाई सहयोग गर्न सैनिक परिचालन आवश्यक रहेकामा जोड दिए । तर रिपब्लीकन पार्टीकै कतिपयले राष्ट्रपति ट्रम्पको यो योजनाको आलोचना गरेका छन् ।

तिजुआनाका लागि मेक्सिकोका विभिन्न स्थानबाट आप्रवासीहरु हिँडिसकेका छन् । कतिपयलाई बस, ट्रकको व्यवस्था पनि गरिएको छ ।

होन्डुरसका यी आप्रवासीहरुले अक्टोबर १३ मा आफ्नो यात्रा सुरु गरेका थिए । उनीहरु करिब तीन हजार किलोमिटरको यात्रा गरी मेक्सिको–अमेरिका सीमामा पुग्ने अभियानमा छन् ।

शुक्रबारसम्म अमेरिकी सीमामा करिब पाँच हजार आप्रवासी पुगिसक्ने अनुमान गरिएको छ । रासस\एएफपी


क्लिकमान्डु