बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना भन्छन्- नेपाली बैंकलाई विदेशीले ऋण पत्याएनन्



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नेपाली बैंकहरुलाई विदेशीहरु ऋण नपत्याएको बताएका छन् ।

नेपालको वित्तीय प्राणलीमा कर्जायोग्य रकमको अभाव भएपछि राष्ट्र बैंकले बैंकहरुले विदेशी संस्थाहरुबाट ऋण ल्याउन पाउने व्यवस्था गरेपनि विदेशीले नपत्याएका कारण अहिलेसम्म बैंकहरुले विदेशी ऋण ल्याउन नसकेको ढुंगानाले बताए ।

‘बैंकहरुलाई विदेशबाट पैसा ल्याउने बाटो खुल्ला छ । तर, ल्याउन पाउँछौ मात्रै भनेर भएन, कसले दिने ?’ सीइओ ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘दिनेले आफ्नो शर्त राख्न, सुरक्षा हेर्छ, जुन हामी पालना गर्न सक्दैनौं ।’

नेपालको कन्ट्री रेटिङ नहुँदा विदेशीले नेपाली बैंकहरुलाई नपत्याएको उनले भनाई थियो । त्यस्तै, ब्याजदरको र सेक्युरिटी कोल्याटर दिन नपाउने व्यवस्थाका कारण पनि बैंकहरुले विदेशी पैसा ल्याउन नसकेको उनको भनाई थियो ।

‘विदेशबाट पैसा ल्याउनका लागि सबै बैंकले ल्याउन खोजिरहेका छन् । दिनेले दिएको भएदेखि सबै बैंकले विदेशबाट पैसा ल्याइसकेका हुनेथिए । किनभने विदेशबाट ल्याउँदा लागत पनि सस्तो पर्थ्यो । कुन बैंकले चाहीँ विदेशबाट सस्तो ब्याजमा पैसा ल्याउन चाहेका छैनन् र ?’ ढुंगानाले भने ।

बैंकरहरुले चाहेर मात्रै यो समस्याको समाधान नहुने उनको भनाई थियो । सरकार र राष्ट्र बैंकले आवश्यक पहल गर्नुपर्ने उनको धारणा छ ।

सरकारले बैंकहरुले विदेशी ऋण ल्याउन पाउने ब्यवस्था गरेपनि अहिलेसम्म एनएमबि बैंकले मात्रै आइएफसीसँग १५ मिलियन डलर अर्थात् डेढ अर्ब रुपैयाँ ऋण ल्याइसकेको छ । त्यस्तै बेलायतबाट पनि एनएमबि बैंकले १५ मिलियन डलर ल्याउने स्वीकृति पाइसकेको छ ।

२८ वाणिज्य बैंकहरुमध्ये अरु बैंकले प्रयास गरेपनि विदेशी ऋण ल्याउन सकेका छैनन् ।

विदेशी एउटा संस्थाले नेपालका एक/दुईवटा बैंकलाई एक/दुई अर्ब दियो दिँदैमा नेपालको समस्या समाधान नहुने उनको भनाई थियो ।

‘समग्र देशमा वातावरण बन्नु पर्यो, देशको रेटिङ हुनुपर्यो, लगानी गर्ने मान्छेले आफ्नो लगानीको जोखिम हेर्दैन र ? भारत र चीनमा लगानी गर्दा प्रतिफल र जोखिम कति छ अनि नेपालमा गर्दा कति छ भनेर नहेरी त कस्ले लगानी गर्छ ? लगानी गर्ने भनेर कसैले पैसा फाल्न त ल्याउँदैन नि ।’ उनले भने ।

पछिल्लो समय नेपालमा कर्जाको मागलाई स्वदेशी पुँजीले नपुग्ने उनको भनाई छ ।

‘अहिले कर्जाको माग जुरु रुपमा बढेको छ, स्वदेशी पुँजीले मात्रै त्यसलाई पूरा गर्न सकिँदैन,’ उनले भने, ‘प्रत्यक्ष बैदेशिक लगानी होस् वा बैदेशिक ऋण, नेपालले विदेशी पुँजीको परिचालन गर्दैपर्छ ।


पुष्प दुलाल