उदाउँदो सूर्यलाई अर्घ दिएसँग छठ पर्व समापन



काठमाण्डौ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन भएको छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँग छठ पर्व समापन भएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।

उता, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लागेको थियो । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरिरहेका छन् । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको थियो ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।


क्लिकमान्डु