अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइदै




काठमाण्डै । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

छठ पर्व आइतबारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यता, शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज जनकपुरमा श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गएरातिदेखि नै मनाइरहेका छन् ।

गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा ब्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।

यसैगरी, छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत वागम

प्रदेश २ मा सार्वजनिक बिदा
२०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष काटिएको छ । दुई नं प्रदेशमा भने प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

राष्ट्रपति-प्रधानमन्त्रीको शुभकामना सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

सूर्य देवता र छठी माताको पूजाराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

यसै अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक र पवित्र पर्व छठले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

‘छठ पर्व’का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुख्यरुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालेकामा खुशी व्यक्त गरेका छन् ।

यता, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘छठ पर्व’ का अवसरमा सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन् ।


क्लिकमान्डु