पोखराकै पहिलो अन्तर्राष्ट्रिय चेन होटल ‘सरोबर’ डिसेम्बरदेखि सञ्चालनमा आउने, डेढ अर्ब लगानी



काठमाडौं । पर्यटकीय नगरी पोखराको लेकसाइडमा अर्को तारे होटल थपिएको छ । इन्जिनियरिङ अध्ययन प्रतिष्ठान पुल्चोकका पूर्वडिन डा. भरत पहारी र उनका भाई डा. मोहन पहारीले डेढ अर्ब रुपैयाँको लगानीमा ‘स्वीस इन्टरनेशनल होटल सरोबर’ खोलेका हुन् ।

बिगत ४ वर्षदेखि निर्माण भइरहेको होटल सरोबर आगामी डिसेम्बरदेखि सञ्चालनमा आइसक्ने होटलका अध्यक्ष डा. भरत पहारीले जानकारी दिए ।

‘फिनिसिङको काम पनि ९९ प्रतिशत सकिएको छ, डिसेम्बर १ देखि होटल सञ्चालन गर्छौं,’ पहारीले क्लिकमाण्डूसँग भने ।

शुरुमा होटल सरोबरको नाममा होटल सञ्चालन गर्न लागिएको भएपनि पछि गएर व्यावसायिक व्यक्तिहरुले सञ्चालन गर्नु राम्रो हुन्छ भन्ने सोचेर स्वीस इन्टरनेशनललाई चेनको रुपमा पोखरा भित्र्याइएको पहारीले सुनाए ।

‘हाम्रो होटल नै पोखराको पहिलो अन्तर्राष्ट्रिय चेन होटल हो,’ उनले भने ।

होटल व्यवस्थापनको जिम्मा स्वीस इन्टरनेशनल होटेललाई दिइएको छ । होटलमा कूल ९६ रुम छन् । जसमध्ये १५ वटा स्वीट रुम छन् । स्वीटरुपमा पनि एउटा प्रेसिडेन्सियल स्वीट रुम (राष्ट्र प्रमुख बस्न मिल्ने सुविधायुक्त कोठा) छ । त्यसैगरी, ६ वटा रोयल स्वीट, ६ वटा स्टान्डर्ड स्वीट, ३ वटा हनिमुन स्वीट, ३६ वटा रोयल डिलक्स र ४४ वटा डिलक्स रुम छन् ।

होटलमा जाने ग्राहकले बाहिरी वातावरणको हावा नभई जमिनमुनिको हावाको मज्जा लिन सक्ने पहारीले सुनाए ।

‘होटलको सबैभन्दा माथिल्लो तलामा ३६० डिग्री भ्यू अर्थात् रुफ टप रेस्टुरेन्ट छ, जहाँबाट तीनतिर फेवाताल र एकतिर पोखरा शहरको दृश्यावलोकन गरेर ग्राहकले मनोरञ्जन लिन सक्ने छन्,’ अध्यक्ष पहारीले भने ।

नेपालकै स्तरीय स्पा

होटलमा नेपालको सबैभन्दा ठूलो स्तरीय स्पा रहेको पहारीको दाबी छ । जहाँ मेडिकल ट्रिटमेन्ट, फिटनेस सेन्टर र योगा मेरिटेसन हलसमेत छ ।

आफ्नै उत्पादनको ग्याँस, जमिनमुनिको हावा

किचन र ट्वाइलेटको फोहोरबाट ग्याँस उत्पादन गर्ने र त्यही ग्याँस खाना पकाउन प्रयोग गर्ने पहारीले जानकारी दिए ।

होटलमा जाने ग्राहकले बाहिरी वातावरणको हावा नभई जमिनमुनिको हावाको मज्जा लिन सक्नेछन् । होटलमा भएका भवनमा प्रयोग हुने बिजुली सोलारबाट उत्पादन गरिएको छ ।

‘जियो थर्मल प्रविधि प्रयोग गरेर जमिनमुनीबाट हावा निकालिएको छ, त्यो हावाले २ तलासम्म एयर कन्डिसनिङको व्यवस्था गरिएको छ,’ उनले भने ।

आफ्नो होटलले ‘अर्थ एयर ट्रिटमेन्ट’को व्यावसायिक प्रयोग नेपालमै पहिलोपटक गरेको पहारीको दाबी छ ।

‘यो होटलका सबै कोठाहरु वातावरणमैत्री छन्, उर्जा कम खपत गर्ने विधि अपनाइएको छ, वातावरणलाई प्रदुषण गर्ने कुनैपनि वस्तु यहाँ प्रयोग गरिँदैन,’ पहारी भन्छन् ।

साढे ६ रोपनी क्षेत्रफल

निर्माणधीन होटलहोटल साढे ६ रोपनी जमिनमा फैलिएको भएपनि भवन भने एउटा मात्रै छ । साढे ४ रोपनी आफ्नै र २ रोपनी जमिन भाडामा लिइएको हो ।

९ तले होटलको २ तला अन्डर ग्राउन्ड छ । अन्डर ग्राउण्डको सुरुको तलामा पार्किङ र माथिल्लो तलामा सभाहल छ । सभाहल विभिन्न कार्यक्रमका लागि सुहाउने गरी पार्टेसन गरिएको छ । पार्टेसन हटाएर ठूलो सभा गर्न मिल्ने व्यवस्था छ । सभाहलमा ८ सय जनासम्म अट्नेछन् ।

२०२२/२३ तिर हिप्पी टुरिस्ट आउँदा लेकसाइडमा सरोबर गेष्टहाउस सञ्चालनमा थियो । त्यसबेला सरोबरले पर्यटकलाई गुन्द्रीमा सुताउँथ्यो । अब डिलक्स रुममा सुताउने छ । ५ रुपैयाँमा एक रात सुत्न पाइने सरोबरमा अब एक रात विताउन न्यूनतम १०० डलर अर्थात् १० हजार रुपैयाँ खर्च गर्नै पर्ने हुन्छ ।

अन्डरग्राउण्ड पार्किङमा ४०/४२ वटा गाडी अट्ने र बाहिरको खुल्ला पार्किङमा ४०÷४५ वटा गाडी पार्किङ गर्न मिल्ने पहारीले बताए । होटलको पार्किङस्थलमा थप ५० वटाभन्दा बढी मोटरसाइकल पार्किङ गर्न मिल्छ ।

चार तारेस्तरको होटल, सुबिधा भने पाँच तारेकै

होटल अहिले चार तारेस्तरको भएपनि पाँच तारे सरहको सुविधा दिइने पहारीले बताए । होटलले कम्तिमा १०० जनालाई रोजगारी दिने उनको भनाई छ ।

पर्यटकलाई गुन्द्रीमा सुताउने हिप्पीकालीन त्यो सरोबर,…

पोखरेलीका लागि सरोबर नयाँ होटल होइन । यो त पोखराकै सबैभन्दा पुरानो होटलमध्येको एक चर्चित होटल हो ।

२०२२/०२३ तिर हिप्पी टुरिस्ट आउँदा लेकसाइडमा सरोबर गेष्टहाउस सञ्चालनमा थियो । त्यसबेला सरोबरका ४ वटा गेष्ट रुम थिए ।

‘होटलले पर्यटकलाई गुन्द्री र खाट दिन्थ्यो, पर्यटकहरु सुत्नका लागि स्लिपिङ व्यागको प्रयोग गर्थे,’ पहारी सम्झन्छन्– ‘कतिपय पर्यटकहरु पीढीँमा पनि सुत्थे, कतिपय आँगनमा टेन्ट ओछ्याएर सुत्थे ।’

त्यसबेला होटल सरोबरमा एक रात सुतेको प्रतिव्यक्ति ५ देखि १० रुपैयाँ लाग्थ्यो ।

निर्माणधीन होटलको स्वीमिङ पुल‘मकै भटमास भुटेर पर्यटकलाई खाजा दिन्थ्यौं, खाना र खाजाको १० रुपैयाँ लिन्थ्यौं,’ उनले स्मरण गरे ।

पहारीको परिवारले ०४६ सालसम्म आफैंले होटल सञ्चालन गर्यो । व्यापार राम्रै थियो । त्यसबेलासम्म होटलमा एटेच बाथरुम बनिसकेको थियो । प्रतिरुम ५ सय रुपैयाँ चार्ज लाग्थ्यो ।

आफूहरुले अध्ययनका क्रममा पोखरा छाडेपछि बुबाआमाले होटल भाडामा लगाएको पहारीले बताए ।

‘०५६ सालसम्म होटल भाडामा लगायौं, त्यसपछि त भाडामा लिएको मान्छेले होटल बन्द गर्यो, हामी आआफ्नो करिअरका लागि बाहिरै थियौं,’ उनले भने ।

जागिरे जीबनाट अबकास हुने बेलामा आफ्ना बाबुआमाले सुरु गरेको व्यवसायलाई व्यूँताएर अझ ठूलो बनाउन दाजुभाई मिलेर होटल सञ्चालनमा ल्याइएको पहारी बताउँछन् ।

भरतका भाइ मोहन पहारी अहिले अमेरिकाको बोस्टनमा छन् । उनी पेशाले जनरल मेडिकल सर्जन हुन् । बन्द भएको सरोबर होटललाई नयाँ दर्ता गरेर दाजुभाइको संयुक्त लगानीमा होटललाई पुन सञ्चालनमा ल्याउन लागिएको हो ।

र, पर्यटकलाई गुन्द्रीमा सुताएर ब्यवसाय गर्ने त्यही पुरानो सरोबरले अब पर्यटकलाई डिलक्स रुममा सुताउने छ । भुटेका मकै अब पपकर्न बनेर पाहुनाको खाजा बन्ने छ ।

त्यतिमात्रै होइन, हिँजो ५ रुपैयाँमा एक रात सुत्न पाइने सरोबरमा अब एक रात विताउन न्यूनतम १०० डलर अर्थात् १० हजार रुपैयाँ खर्च गर्नै पर्ने हुन्छ ।


पुष्प दुलाल