अमेरिकी मूलधारको राजनीतिमा पहिलोपटक चुनाव जित्ने भाग्यमानी बने नेपाली मूलका भण्डारी
बाल्टिमोर/ अमेरिका । अमेरिकाको मुलधारको राजनीतिमा पहिलोपटक नेपालीमुलका अमेरिकाबासी नेपालीको प्रवेश भएको छ । मंगलबार सम्पन्न अमेरिकाको मध्यवधी निर्वाचनमा मेरिल्याण्ड राज्यबाट नेपाली मूलका ह्यारी भण्डारी हाउस अफ डेलिगेट्स (मेरिल्याण्ड राज्य प्रतिनिधि सभा सदस्य) मा निर्वाचित भएका हुन् ।
यहाँको डेमोक्रेयाटिक पार्टीको तर्फबाट निर्वाचन लडेका भण्डारी उच्च मत ल्याउनेतर्फबाट दोस्रो स्थानमा रही विजयी भएका हुन् । मेरिल्याण्डको डिष्टिक ८ बाट निर्वाचनमा भाग लिएका भण्डारीको जितसंगै अमेरिकाको ईतिहासमै पहिलोपटक नेपालीमुलका व्यक्ति राजनीतिक रुपमा उच्च तहमा पुग्ने व्यक्ति भएका छन् ।
एक डिष्टिकको निर्वाचनमा उच्च भोट ल्याउने ३ जना विजयी हुने व्यवस्था रहेको छ । भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए ।
नेपालको पर्वतमा जन्मिएका भण्डारी सन् २००५ मा अमेरिका प्रवेश गरेका थिए उनी पेशाले शिक्षक हुन् । गत प्राथमिक निर्वाचनमा २० हजार ७ सय २६ खसेको मत मध्ये भण्डारीले २८.१ प्रतिसत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । यस अगाडि सन् २०१४ मा पनि चुनाव लडेका भण्डारी पहिलो चरणमै चौथो स्थान आएपछि प्रक्रियाबाटै बाहिरिएका थिए ।
यसैबीच मंगलबार सम्पन्न मध्यवधी निर्वाचनको परिणाम आउन सुरु भएको छ । मंगलबार स्थानीय समयअनुसार राती अवेरसम्म प्राप्त नतिजामा यहाँको डेमोक्र्याटीक पार्टीले तल्लो सदन (कंग्रेस) मा बहुमत ल्याउने देखिएको छ । माथिल्लो सदनमा भने सत्तारुढ पार्टी रिपव्लिकनकै बढी सिट आउने देखिएको छ ।