काभ्रे र बागलुङमा सवारी दुर्घटना हुँदा ३ को मृत्यु, ४ जना घाइते



काठमाण्डौ । काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।

काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर पहरी गम्भीर घाइते भएका छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता, बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२ मा लु६प ८१३७ नम्बरकोे मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका–६ निवासी मेनुका शर्माको मृत्यु भएको छ भने उनका श्रीमान् ध्रुव शर्मा घाइते भएको स्थानीयले जनाएका छन् । मोटरसाइकल करीब १०० मिटर तल बडीगाड खोलामा खसेको थियो ।

घाइते ध्रुव शर्माको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


क्लिकमान्डु