कतारी लगानीकर्तालाई अध्यक्ष राणाको आग्रहः ढुक्क भएर नेपालमा लगानी गर्नोस्



काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कतारको दोहामा आयोजित उच्चस्तरीय व्यवसायिक भेटवार्तालाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कतारी लगानीकताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छन् ।

दुवै देशका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको नेपाल-कतार व्यवसायिक भेटवार्तामा अध्यक्ष राणाले बदलिंदो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा आफ्नो व्यापार लगानी विस्तार गर्न आग्रह गरिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कतारको ४ दिने औपचारिक भ्रमणका साथ महासंघका अध्यक्ष राणाको नेतृत्वमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहितको महासंघको प्रतिनिधिमण्डल अहिले कतारको दोहामा रहेको
छ ।

सो अवसरमा निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघले मुलुकको आर्थिक समृद्धि तथा आत्मनिर्भर अर्थ व्यवस्थालाई सदैव विकेन्द्रित अवधारणा अनुसार अघि सारेर कार्य गरिरहेको अध्यक्ष राणाले बताइन् । लामो राजनीतिक अस्थिरता पश्चात नेपालमा पूर्णरूपमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बनेको समेत अध्यक्ष राणाले प्रष्ट पारेकी थिइन् ।

साथै उनले महासंघले पी–टु–पी अवधारणा मार्फत आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिंदै आएकोपनि बताइन् ।

चार लाख भन्दा बढी नेपालीहरूले कतारमा काम गरेर ठूलो मात्रामा रेमिट्यान्स पठाई नेपाली अर्थतन्त्रमा सहयोग पु¥याईरहेको उल्लेख गर्दै अध्यक्ष राणाले तुलनात्मक रूपमा सस्तो श्रम शक्तिमा अन्य थुप्रै क्षेत्रहरूमा नेपालमा संयुक्त लगानी गरी लाभ उठाउन सकिने बताएकी थिइन् ।

द्विपक्षीय व्यापार अत्यन्त न्यून रहेको प्रशंग उठाउँदै अध्यक्ष राणाले व्यापार अभिवृद्धिका लागि दुवै देशबाट महत्वपूर्ण पहल हुनुपर्नेमा समेत जोड दिइन् ।

कार्यक्रममा कतारी उद्योगी व्यवसायीहरूले नेपालको कृषि, वित्तीय, उर्जा, पूर्वाधार, पर्यटन एवं नेपालमा वैदेशिक लगानी आकर्षणका लागि आवश्यक सहजीकरणमा महासंघको प्रतिवद्धता लगायतका अन्य थुप्रै क्षेत्रमा चासो देखाएका थिए ।

अध्यक्ष राणाले सन् २०२० को पर्यटन वर्षसँगै नेपालमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थल, द्रुतमार्ग, रेलवे, केवलकार र स्मार्ट सिटिज जस्ता पूर्वाधार निर्माणमा ठूलो लगानीको अवसर रहेको जानकारी गराइन् ।

विशेष गरी उर्जा, पर्यटन, कृषि तथा वनजन्य, सूचनाप्रविधि तथा खानीजन्य, उत्पादनमूलक र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नेपालले ठूलो लगानी खोजीरहेको बताइन् ।

यस भ्रमणका क्रममा दुवै देशका सरकारबीच कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएबाट थप सहकार्यका क्षेत्रमा ढोका खुलेको अध्यक्ष राणाले बताएको महासंघद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

कतारमा रहँदा महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिको औपचारिक कार्यक्रमहरूमा सहभागी हुनुका साथै कतारका उद्योगी व्यवसायी र त्यहाँका गैह्र आवासीय नेपाली प्रतिनिधिहरूसँग समेत औपचारिक भेटवार्ता गरेको छ ।


क्लिकमान्डु