नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य हुने, समझदारी पत्रमा हस्ताक्षर



काठमाण्डौ । नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले आज एक समारोहका बीच काठमाडौंमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीकले हस्ताक्षर गरेका छन् ।

अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, शीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानूनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष गोल्छा, विशिष्ट सदस्य एवम् पूर्व अध्यक्ष चण्डिराज ढकाल, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण साःख, एसबीसीका अध्यक्ष ली साङ जीक र नेपाल कोरिया उवासंघका महासचिव सुनिल खेतानले मन्तव्य राखेका थिए ।

त्यसैगरी साउतीका अध्यक्ष डा. पोषराज पाण्डेले नेपालमा साना तथा मझौला व्यवसायमा लगानीको अवसर तथा साझेदारीका सम्भावना र एसबीसी कोरियाका जुङ हुवान मुनले कोरियन साना तथा मझौला व्यवसायका विषयमा प्रस्तुती दिएका थिए ।

महासंघमा रहेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१६\१७ मा नेपालको कोरियासँग ८२.६ मिलियन अमेरिकी डलर वरावरको व्यापार घाटा रहेको देखिन्छ ।


क्लिकमान्डु