नेपाल र मलेसियाबीच श्रम समझदारी, छ महिनादेखि रोकिएको रोजगारी खुल्ने



काठमाडौँ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।

लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको र त्यसका लागि मलेसियाली मानव संशाधनमन्त्री आइतबार राति नेपाल आएका थिए ।

नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भएपनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने प्रावधान समझदारी पत्रमा समेटिएको छ । अब मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नुपर्ने छैन ।

दुई सरकारका उच्च अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएपनि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्ने बताइएको छ । प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने जनाइएको छ ।

 


क्लिकमान्डु