नेपाल र माल्टाबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

63
Shares

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारी तथा नेपालका लागि गणतन्त्र माल्टाका नवनियुक्त राजदुत स्टेफन वर्ग बीच महासंघ सचिवालयमा द्विपक्षीय आर्थिक–व्यासायिक भेटवार्ता सम्पन्न भएको छ ।

भेटवार्तामा नेपाल र माल्टा बीचको आर्थिक व्यावसायिक सम्बन्ध तथा आगामी दिनमा निजी क्षेत्रका तर्फबाट हुन सक्ने सहकार्यका क्षेत्रहरूमा विस्तृत छलफल भयो ।

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षद्वय उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, नेपालका लागि माल्टाका वाणिज्यदुत तथा महासंघका तीन नम्वर प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, उद्यमी वासुदेव गौतम समेत सहभागी भएको उक्त आपसी भेटवार्तामा अत्यन्त न्यून रहेको द्विपक्षीय व्यापार विस्तारमा जोड दिइयो ।

महासंघमा रहेको तथ्यांक अनुसार सन् २०१६–१७ मा नेपालले माल्टाबाट २१ करोड र माल्टातर्फ करिव ३५ लाख मुल्य बराबरको वस्तु तथा सामान आयात–निर्यात गरेको थियो । द्विपक्षीय भेटवार्तामा व्यापार प्रवद्र्धनका लागि दुवै देशका निजी क्षेत्र बीच आपसी सहकार्यमा जोड दिइयो ।

माल्टा र नेपाल बीच खासगरी वित्तीय क्षेत्र विकास, पर्यटन, फिल्म लगायत सेवामुलक व्यवसाय र आइसीटी क्षेत्रमा सहकार्यको बलियो सम्भावना रहेको भेटवार्तामा औल्याइयो ।

भेटवार्तामा महासंघका अध्यक्ष राणा र विशिष्ट सदस्य ढकालले नेपाली निजी क्षेत्र, माल्टाले हासिल गरेको आर्थिक प्रगति नेपालमा आकर्षण गर्न तयार रहेको र त्यसका लागि नवनियुक्त राजदूतबाट सहयोगको अपेक्षा गरेको बताए ।

नवनियुक्त राजदूत स्टेफेनले नेपाली निजी क्षेत्रसँगको वार्ता अत्यन्त महत्वपूर्ण रहेको र के कसरी द्विपक्षीय आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा विकासको अनुभव आदान प्रदान गर्न सकिन्छ त्यसमा आफूले महासंघसँग नजिकमा रहेर सहयोग गर्ने विश्वास दिलाएका थिए ।